आइतबार, जेठ ६, २०८१

शिवरात्रि

सुनिल उलक २०७९ फागुन ६ गते ७:५२

हुन त यो हिन्दुहरूको एक प्रमुख पर्व हो तर यो खासगरि शैव सम्प्रदायको प्रमुख पर्व हो । हिन्दुहरू चार रात्रिलाई प्रमुख रूपमा मान्ने गर्दछन् । मोहरात्रि, कालरात्रि, सुखरात्रि तथा महारात्रिका रूपमा चार रात्रिको विशेष उल्लेख गर्ने गरिन्छ । मोहरात्रि भाद्र कृष्ण अष्टमीको रात अर्थात् कृष्ण जन्माष्टमीलाई भन्ने गरिन्छ । कालरात्रि आश्विन शुक्ल सप्तमी अर्थात् दशैको फूलपातीको रातलाई कालरात्रिका रूपमा लिने गरिन्छ । सुखरात्री कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाको रातलाई भन्ने गरिन्छ । महारात्रि फागुन कृष्ण चतुर्दशीको रात अर्थात् शिवरात्रिलाई भन्ने गरिन्छ । यसरी मोहरात्रिमा जन्म, कालरात्रिमा बुद्धि र शक्ति वृद्धि, सुख रात्रिमा ऐश्वर्य वृद्धि तथा अन्तमा महारात्रिमा मोक्ष प्राप्ति हुने रूपमा मनाउने गरिन्छ ।

पहिलो विशेष रात्रि मोहरात्रिमा कृष्णको जन्म भएको थियो । कृष्ण यदुवंशको अन्तका लागि पनि जन्म भएका थिए । यदुवंशको विनाश गर्नका लागि नै उनले महाभारतको लडाइ सुरु गराएका थिए । कालरात्रिमा रक्तबीजको हत्या गर्न भगवतीको जन्म भएको थियो । र असत्य माथि सत्यको जीतका रूपमा रक्तबीज राक्षसको हत्या गरी प्रमाणित गराएका थिए । सुख रात्रिमा लक्ष्मीपूजा गर्ने प्रचलन छ । महारात्रिमा शिवको आराधना गरी मनाउने गरिन्छ । यस रातमा शिवको प्रादुर्भाव भएको रूपमा विशेष पूजा आराधना गरेर मनाउने गरिन्छ ।

शिवभक्तिको कथा नेपालमा सातौँ शताब्दीमा सुरु भएको मानिन्छ । पशुपतिको उत्पतिका कथा यही सातौँ शताब्दीमा भएको मान्न सकिन्छ । गोपाल वंशीको समय गाई पालन गरेर जीविकोपार्जन गर्ने गोपालहरुले गाईका लागि पोषक घाँस उत्पादन गरिने धर्ती भित्रको काल्पनिक देवतालाई पूजा गर्ने गर्दथे । जमिन मुनि खाल्डो खनेर एक प्रस्तरलाई पूजा गर्ने गर्दथे । त्यो प्रस्तर पार्थिव शिलालाई गाईको दुध पनि नियमित चढाउने गर्दथे । उपत्यकाका नेवाःहरु अहिले पनि पाहाँचह्रेको दिन यसरी नै पूजा गर्ने गर्दछन् । यसरी पशुको रक्षकका रूपमा रहेको देवता पूजा गर्ने परम्परा गोपालहरुले सुरु गरेका थिए ।

पछि मिथिलाबाट भक्तपुरमा घर ज्वाइँका रूपमा ल्याइएका द्रोण वार ब्राह्मण स्थित मल्ल देवले तैयार बनाउन लगाएको गोपाल वंशावलीमा धेरै सत्यताहरू बङ्ग्याएको हामी पाउँछौ । स्थितिदेव ठाकुर थिए ब्राह्मण थिए तर उनले मावलीको उल्लेख गरी कर्णाटवंशको भन्न खोजेको पाउँछौ । यही गोपाल वंशावलीमा पशुपतिको उत्पत्तिको कथा यसरी लेखिएको छ । बहुह्री नाम गरेको गाईले सधैँ बागमती किनारमा दुध चढाउने गरेको र पछि खनी हेर्दा त्यहाँ पशुपतिको ज्योतिर्लिङ्ग उत्पत्ति भएको कथा लेखिएको छ । साथै सो बहुह्री गाईका मालिक रहेका भुक्तमान ग्वालालाई ने मूनी ऋषिले गोपालवंशको पहिलो राजा बनाइदिए ।

सातौँ शताब्दीमा लिच्छवीकालमा प्रमुख रूपमा रहेका अंशुवर्मा नै प्रमुख शिवभक्त थिए । उनले जमिन भित्र खाल्डोमा पूजा गर्ने पार्थिव शिलालाई नै पशुपतिका रूपमा पूजा गरेको अनुमान गर्न सकिन्छ । तेह्रौँ शताब्दीमा बंगालका सुल्तान समसुद्दिन इल्यासको उपत्यका आक्रमणको समय धेरै मठमन्दिर तथा महत्वपूर्ण हिन्दुस्थलहरु तोडफोड गर्ने क्रममा अंशुवर्माले स्थापना गरेको पशुपति पनि तोडफोड गरियो । अहिले आर्यघाट नजिकै परित्यक्त रूपमा रहेको पार्थिव शिला नै त्यो बेलाको वास्तविक पशुपति हुनुपर्दछ । पछि चौधौँ शताब्दीमा ज्योतिर्लिङ्ग रूपमा पशुपतिनाथको मूर्ति बनाइएको थियो ।

चौधौँ शताब्दीमा नै राजा यक्ष मल्लको समयमा पहिलो पटक भारतबाट शङ्कराचार्यको आगमन भए पछि पशुपतिको प्रचार अझ बढी हुन थाल्यो । यक्ष मल्लले नै भक्तपुरमा भारतीय मन्दिर दत्तात्रेयको मन्दिर बनाएका थिए । त्यति बेला गोसाईं सम्प्रदायका अनुयायीहरू धर्मका कारणले भन्दा पनि व्यापारका कारणले नेपाल आउन थालेका थिए । गोसाईंहरू तिब्बतसम्म पनि पुग्दथे । यसरी नै आएका एक गोसाईं व्यापारी गुरुबक्श गिरीले पशुपति दर्शन गर्न आउनेहरुका लागि सहज धर्मशालाका रूपमा भक्तपुरमा पूजारीमठ बनाइदिएका थिए । यसरी भारतबाट लामबद्ध रूपमा शिवरात्रिका लागि नेपाल आउने योगीहरू गिरीहरू तथा गोसाईंहरूको भिड लाग्ने गर्दथ्यो । आज पनि शिवरात्रिको अवसरमा भारतका विभिन्न मठमन्दिरहरूबाट योगीहरू आउने गर्दछन् ।

प्रतिक्रिया