शुक्रबार, चैत १६, २०८०

‘गहना प्रेमीलाई एउटा प्रश्न, देहमा गहना छ कि जन्जिर ?

केशव आचार्य २०७८ माघ १ गते ८:४२

शब्द सिर्जना : एक
साना नानीको, बानी बिग्रेला- होस गर्नू ।
आफ्नै आँखाको,नानी बिग्रेला-होस गर्नू ।

बडो वित्पाते हुन्छ, सोह्र-सत्रे जवानी,
कलिलैमा जवानी बिग्रेला- होस गर्नू ।

नित्य- खाने, प्यूँने, चलाउने कञ्चन त्यो,
धारा-कुवाको, पानी बिग्रेला-होस गर्नू ।

माल पाएर पनि, चाल पाएनौ भने,
मखमली, सिरानी बिग्रेला- होस गर्नू ।

काम सकेपछि, पोहोरो पखाल्नु-नत्र,
मोही पार्ने, मदानी बिग्रेला-होस गर्नू ।

यी सामान्य कुरा, मनन गरेनौ भने,
यी (६) कै,जिन्दगानी बिग्रेला-होस गर्नू ।

शब्द सिर्जना : दुई
दुखै दु:ख छ, कष्ट अनि पीर छ ।
ठान्नु हुन्न- मेरो यस्तै तक्दिर छ ।

भाग्यको आशमा अल्झेको छ मान्छे,
यही समस्या, अत्यन्त गम्भीर छ ।

कर्म गरी राखे, फल पाइएला,
बुझ- असार छ, र त मङ्सिर छ ।

गहना प्रेमीलाई, एउटा प्रश्न,
देहमा, गहना छ कि जंजिर छ ?

भएर पनि, दृश्यमा नदेखिने,
दुनियाँ भरिमा ‘मात्र’ समीर छ।

अनेकौं कष्ट, झेलेको छ धराले,
तै पनि, हेर त कति स्थिर छ ।

प्रतिक्रिया