आइतबार, वैशाख २३, २०८१

हाँगो लाछिएको चरा !

सुजम्बर सम्भव २०७८ माघ १५ गते ९:४९

सहसा संकट पर्यो चरालाई
गाउँमा विकास बग्यो, रुख ढल्यो
र, गुँड भत्कियो।
विपद् आउनु नौलो थिएन
पखेटा मौजुद छन् ,
उड्नलाई आकाश खुला छ,
कुनै आपत्ति थिएन।

तर उड्दा-उड्दै थाकेपछि
बिसाउने चौतारी नभेटेपछि
उसले लत्तो छोड्यो र क्षीण आशा लिएर
झर्यो मर्त्यलोकमा लोकाचार छोडेर
बुझेन उसले,
जताततै माईकल फाराडे फैलिएका छन्
विचरा निरक्षर पंक्षी
के चिनोस फाराडे, मार्क्स र मार्सलहरुलाई?
के बुझोस बिज्ञान?
पलमै खरानी भो उसको देह
पलमै इतिहास भो उसको अस्तित्व,
पल्टिरहयो उसको रक्तहीन काया
विजुलीको तारमाथी
एउटा धमिलो इतिहास बनेर।

साथी, उड्नसक्नु पनि ठूलो कुरो हैनरहेछ
जुध्नसक्नु मात्र पनि ठूलो कुरो हैनरहेछ ।

प्रतिक्रिया