शनिबार, वैशाख ८, २०८१

‘लिप इयर’

रञ्जुश्री पराजुली २०७८ माघ १ गते ९:३८

नीमा अतीतको सम्झनाले एकातिर रोमाञ्चित भइरहेकी थिइन् भने अर्कोतिर पश्चातापको भुमरीमा चुर्लुम्म डुबेकी थिइन् । रवर्टको मधुरो सम्झना त उनको हृदयमा कोरिएको नै थियो तर आज किन हो उसको सम्झना धेरै नै आइरहेको थियो ।

नीमाको घर सानेपामा थियो । त्यो ठाउँ नेपाल आउने विदेशीहरुको प्रिय थियो कि क्या हो उनको घरमा सधैंजसो नै पेइङ गेस्ट बसेका हुन्थे । एकपटक एउटा अमेरिकन केटा बुद्धिजममा स्नातकोत्तर गर्न नेपाल आएको थियो । ऊ प्राय: अध्ययनको शिलशिलामा घुमिरहने भए पनि स्थायी डेराचाहिँ नीमाको घरमा थियो । ऊ मिलनसार, मायालु थियो । नीमाको बूढी हजुरआमाको मनसम्म उसले जितेको थियो ।

ऊ अगाडि भएका बेला बूढीले केही काम गर्न लागेको देख्यो मने ‘म मद्दत गर्न सक्छु ?’ भन्दै अगाडि बढ्थ्यो । त्यस्तो बानीले गर्दा ऊ त्यो घरमा सबैको प्रिय बनेको थियो । नीमा पनि मास्टर्स गर्दै थिइन् । रवर्ट नीमासँग नजिकै हुन चाहन्थ्यो । एकपटक उसले नीमालाई ‘मलाई तिमी असाध्यै मन पर्छ । हामी एक-अर्कालाई राम्ररी चिन्नका लागि म तिमीलाई डेटिङमा लान चाहन्छु जान्छौं ? भनेर सोध्यो । नीमालाई पनि रोवर्ट भलाद्‌मी लाग्थ्यो । मन पनि परेको थियो । तर विदेशी गोरेले त्यसो भन्दा नीमालाई कताकता डर पो लाग्यो । उनी रवर्टदेखि परपर हुन्थिन् । तर रवर्ट भने झन्-झन् नजिक हुन खोज्थ्यो । यो सिलसिला दुई वर्षसम्म चल्यो ।

नीमा दुई-चारपटक ऊसँग डेटिङ पनि गइन् । रवर्टले ‘मेरा बुबा-आमालाई नेपाल घुम्न ल्याउँछु । तिमीसँग भेटाउँछु । अनि म हामी दुवै परिवारको उपस्थितिमा तिमीसँग नेपाली तरिकाले बिहे गर्छु’ भन्यो । नीमा पनि उसलाई मन पराउँथिइन् । तर मन्जुरी भने व्यक्त गर्न सकेकी थिइनन् । विदेशी भएकाले उनी सोचमा परेकी थिइन् ।

रवर्ट गए पनि उनीहरुबीच च्याट हुन्थ्यो । नीमाले रवर्टकै सिफारिसमा अमेरिकन कम्पनीमा काम सुरु गरेकी थिइन् । अफिसको काम विशेषले उनीलाई अमेरिका जान पर्ने भयो । त्यो वर्ष फेब्रुअरीमा तीस दिनको परेको थियो । रवर्टहरुको देशमा बिहेको प्रस्ताव केटाले केटीलाई ‘म तिमीलाई माया गर्छु । के तिमी मसँग बिहे गर्छौं’ भन्छन् । तर बीस फेब्रुअरीमा केटीले केटालाई विवाहको प्रस्ताव राख्छन् भन्ने नीमाले सुनेकी थिइन् । चेक आउटबाट बाहिर निस्किएपछि रवर्ट उनलाई लिन पर्खिरहेको थियो । उनी उसको अगाडि ठीक त्यही पोजमा जसरी केटाहरु केटीलाई प्रस्ताव राख्छन् रोवर्टलाई ‘म तिमीलाई धेरै प्यार गर्छु । के तिमी मसँग बिहे गर्छौ ?’ भनिन् । रवर्टले खुसी हुँदै उसलाई अँगालो हाल्यो । त्यहाँ उपस्थित सबैले ‘बधाई’ भन्दै ताली बजाए ।
हाल : अमेरिका

प्रतिक्रिया