सोमबार, वैशाख २४, २०८१

प्रचार शैली

डा. विदुर चालिसे २०७८ चैत १२ गते ८:४१

जान्ने, सुन्ने, बुझ्ने, पढ्ने, लेख्ने, भन्ने, गर्ने, दौड्ने, लगाउने र लाग्नै सबै अजासुहरू दाउवाला नेताहरू थिए । एकदिन नयाँ नेताको जन्मसँगै मृत्युको भविश्यवाणी भयो ।
-“भूत लागे झाँक्री देखाउनू, लत लागे बानी सुधार्नू !”
जिन्दगीभर गनगनको र्याइँर्याइँ थियो । आशाको आत्मा त्यसै भट्किरहन्थ्यो । निराशाको हात उफ्रिरहन्थ्यो । एकाएक एक आश्चर्यको समाचार एक महापुरूषलाई सुनाइयो ।
-“बधाई छ !”
-“किन बधाई दिएको ?”
-“लौ ! उचित जिम्मेवारी पाउनुभयो नि !”
बधाई दिने मान्छे हात मोल्न थाल्यो । बधाई पाउने महापुरूष बिलखबन्दमा पर्यो । एकोहोरो हेरिरह्यो । बधाई दिने मान्छेले लड्बडाएको स्वरमा स्वार्थ उजागर गरेर भन्यो ।
–“यसपाली त मेरै नाम सिफारिस गर्नुपर्छ है ? हजुर !”
महापुरूष बोलेनन् । उनको मुण्टो मात्रै हल्लिरह्यो । नाक फुस्स फुल्यो । नाकको टुप्पो तनक्क तन्कियो । गम खाँदै भने ।
–“हेरूँला !”
जुरेको हैसियतमा महापुरूषको उचाइ चुलिएको थियो । अर्को तिर माला लगाएको उहिलेको कुहिएको फोटा टाँसेर स्टाटस उनको प्रशंसैप्रशंसामा आयो ।
–“हाम्रा अति आदरणीयको प्रगतीले गर्व महसुस भएको छ, हजुरलाई हार्दिक बधाई छ ।”
महापुरूषको खुट्टा चाकडीद्वारा सल्बलायो । भूइँ भासिन र आकास अकासिन थाल्यो । मनमा उत्साह, शरीरमा जाँगर र सोचमा परिवर्तन आयो । उसले फुलौराको उफ्राइझैँ उपदेश बक्न थाल्यो । आशामुखीहरू फुर्किन थाले । छेउमा आएर एक कार्यकर्ताले भन्यो ।
–“चुनावको टिकट त मेरै हुनुपर्छ है ? कमरेड !”
–“म भएपछि पक्का !”
उठिरहेको मुठीको हात तल झर्यो । झरेकै हातले कार्यकर्ता खैनी मोल्न थाल्यो । नेताको निकै गुणगान गाउन थाल्यो र अन्त्यमा भन्यो ।
–“म पनि मिलाइहाल्छु नि !”
महाशयको जिम्मेवारीमा तिहारको रङ्गिन मखमली फूलको झैँ आकर्षण सजावट भइरहेको थियो । जसरी मखमली फूलमा सुगन्ध थिएन । तिखा सुइराहरू थिए । हेर्दा सुन्दर देखिन्थ्यो । छाम्दा सिउँडी जस्ता लाग्थे । अजम्बरीको प्रतीकमा सजिएको मखमली झैँ जीवन्त नेता थिए । भूमिकामा रूखो क्याक्टसझैँ उजाड बनेर उभिएका मनोनित महाशयले वरपर अनुनय गरेर घुमिरहेका मूर्खहरूलाई भने ।
–“चुनाव आयो । प्रचार धेरै गरिदिनु पर्यो, अब !”
छेउमा अर्को नकच्चरो थियो । उसले यसै खोकिरह्यो । साथमा एउटा अपील पढिरहेको थियो ।
–“होडबाजी !”
दिनभरि फेसबुक स्टाटसमा बधाईको ओइरो आइरहेको थियो । बधाई दिने थिए । लिने पनि थिए तर बाँड्ने कोही थिएनन् ।
फेरि मुठि उठिरहेको थियो ।
–“स्वार्थ !”

प्रतिक्रिया