झन्डै १ वर्षको लडाइँमा भोटतर्फ ठूलो क्षतिसँगै हार भएपछि…

वि.सं. १९१२ को पुसमा सन्धिको प्रस्ताव लिएर भोटको प्रतिनिधीमण्डल काठमाडौं आइपुग्यो । एक वर्ष लामो नेपाल-भोट युद्धमा नेपाली सेनातर्फ अफिसर र जवान गरी करिब ३५०० को मृत्यु भयो । भोटतर्फ करिव सात हजार सैनिकको मृत्यु भयो । भोट तर्फबाट सन्धिको प्रस्ताव आएको र नेपाल सरकारको ढुकुटी पनि युद्धका कारण रित्तिन थालेको हुँदा जंगबहादुर पनि उपयुक्त प्रस्तावमा सन्धि गर्न तयार हुने मनसायमा बसेका थिए ।
अन्तत: लामो छलफल पछि वि.सं. १९१२ चैत १३ गतेका दिन दुई देशबीच सन्धिपछि अन्त्य भयो । सन्धिअनुसार भोटले सालाना दश हजार रुपैयाँ उपलब्ध गराउने, भोटमा व्यापार गरी बसेका कुनै पनि नेपाली व्यापारीसँग कुनै पनि कर नलिने, एक-अर्को देशबीच युद्ध नगर्ने तथा कुनै तेस्रो देशले कसैलाई पनि आक्रमण गर्न आएमा एक-अर्कोलाई सहयोग गर्ने, भोटमा कैद रहेका सिख सिपाही तथा नेपाली सिपाहीका साथै तिनका परिवार र भोटको अधिनमा रहेको नेपाली तोप तथा अन्य गोलीगट्ठाहरु पनि फिर्ता गर्ने ।
साथै नेपाली सेनाले पक्री राखेका भोटका सैनिकहरुलाई पनि फिर्ता पठाउने । ल्हासामा नेपाल सरकारका तर्फबाट प्रतिनिधिका रुपमा भारदार राख्ने । ल्हासामा नेपालीहरुले खुसीले चाहेको व्यापार गर्न छुट दिने । भोटमा रहेका नेपालीहरुमा लुटपाट भएमा भोटकाहरुबाट रकम भराउने । भोटे व्यापारीमाथि नेपालीले लुटपाट गरेमा नेपालीहरुबाटै रकम भराई लिने । यस सन्धिलाई थापाथली सन्धिका नामले चिनिन्छ ।
यस सन्धिपछि भोट सरकारले नेपाललाई क्षतिपूर्ति स्वरुप दुई लाख ३३ हजार नेपाली रुपैयाँ उपलब्ध गराएको थियो । साथै यो सन्धिअनुरुपको सालाना १० हजार रुपैयाँ नेपाल सरकारले १०० वर्षसम्म वि.सं. २०१२ सम्म पनि पाइरहेकै थियो । यस सन्धिमा नेपालका तर्फबाट श्री ३ जंगबहादुरले हस्ताक्षर गरेका थिए भने भोटका तर्फबाट तत्कालीन पोतला दरबारका ११औं दलाई लामाको निधन भएको तर नयाँ दलाई लामाको नियुक्ति नभइसकेको हुँदा पोताला दरबारको लामाको प्रतिनिधिका रुपमा छेन मेर डा वाङले हस्ताक्षर गरेका थिए ।
यसरी जंगबहादुरले भोटमा नेपालीमाथि भएको अन्याय र अत्याचारको बदला लिएका थिए । पछि वि.सं. १९४० मा रणोद्वीपको समयमा पनि भोटको अन्यायविरुद्ध लडाइँको तयारी भएको थियो ।
तस्बिरमा देखाइएको तक्मा ५६ भोटमा रहेका डोगरा युद्धबन्दीमा बाँडिएको भए तापनि यसको दुईवटा मात्र हाल भेटिएको छ । चाँदीको यो तक्मा ४२ मिमि गोलाइको तथा झन्डै २५ ग्राम तौलको छ । केही वर्षअगाडि यस तक्मा ९००० पाउन्डमा बिक्रीमा राखिएको थियो ।
प्रतिक्रिया