शुक्रबार, वैशाख १४, २०८१

राष्ट्र बैंकले भन्यो- शोधनान्तर घाटा हालसम्मकै उच्च

नेपालखोज २०७८ माघ २ गते १५:३७

काठमाडौं । नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता बिग्रँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रँदै गएको तथ्य बाहिरिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको बाह्य क्षेत्रहरू बिग्रँदै गएको देखिएको हो । मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन्  । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा १५० अर्ब शोधनान्तर घाटा रहेको थियो । तर, पछिल्लो एक महिनाको अन्तरमा मात्रै ४५ अर्ब रुपैयाँले शोधनान्तर घाटा बढेको हो । पाँच महिनाको अवधिमा ४५ अर्ब रुपैयाँले शोधनान्तर घाटा बढेर शोधनान्तर स्थिति १९५ अर्ब घाटामा गएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षमा लगातार रूपमा शोधनान्तर घाटामा गइरहेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ६ अर्ब ४८ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ६४ करोडले घाटामा छ ।

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा चालु खाता तीन खर्ब ६९ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता चालु आवको पाँच महिनामा दुई अर्ब ५२ करोड रुपैयाँले घाटामा छ ।

मंसिरसम्ममा पुँजीगत ट्रान्सफर २ दशमलव ४ प्रतिशतले घटेर चार अर्ब ६४ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै, पछिल्लो समय नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५७ प्रतिशतले वृद्धि भएको छ । ५७ प्रतिशतले वृद्धि भएर सात अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ५० करोड थियो ।

त्यस्तै, विदेशी मुद्राको सञ्चिति पनि चालु आर्थिक वर्षमा निरन्तर रूपमा घटिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार मंसिरसम्म सञ्चिति १२ खर्ब १४ अर्ब तीन करोडमा झरेको छ ।

अघिल्लो महिनाभन्दा सञ्चिति ३० अर्ब ८२ करोड रुपैयाँले घटेको छ । चालु आर्थिक वर्षमा मात्र सञ्चिति एक खर्ब ८५ अर्ब रुपैयाँले घटेको तथ्यांकले देखाएको छ । नेपालमा विदेशी मुद्रा सञ्चिति कुनै समय बढेर १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । त्यस हिसाबले अहिलेसम्म दुई खर्ब ९२ अर्ब रुपैयाँले घटिसकेको छ । कोरोना महामारीको समयमा समेत नेपालमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो ।

त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा वैैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स ६ दशमलव ८ प्रतिशतले घटेको छ । गत कात्तिक महिनाको तुलनामा मंसिरमा बढे पनि गत वर्षको सोही अवधिको भन्दा घटेको छ । गत कात्तिक महिनामा ७३ अर्ब १० करोड भित्रिएको रेमिटेन्स मंसिरमा ७६ अर्ब १६ करोड भित्रिएको छ । यद्यपि गत वर्षकोे मंसिरमा ७९ अर्ब ९ करोड रुपैयाँ भित्रिएको थियो ।

यसरी चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ८८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको मासिक तथ्यांकअनुसार मंसिरसम्ममा तीन खर्ब ८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको हो । रेमिट्यान्स गत साउनयता लगातार घटिरहेको छ ।

रेमिट्यान्स गत साउनमा १८ दशमलव १, भदौमा ६ दशमलव ३, असोजमा ७ दशमलव ६, कात्तिकमा ७ दशमलव ५ र मंसिरमा ६ दशमलव ८ प्रतिशत घटेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई दुई अर्ब २६ करोड कायम भएको छ  । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ४ प्रतिशत बढेको थियो ।

तर, यता चालु आर्थिक वर्ष ०७८–७९ को पहिलो पाँच महिनामा नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार निर्यात १०५ दशमलव ६ प्रतिशतले बढेर १०२ अर्ब ९२ करोडले निर्यातमा वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो । तथ्यांकअनुसार भारतमा १३८ तथा अन्य मुलुकतर्फ हुने निर्यात २८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । अन्य गन्तव्यको निर्यातमा वृद्धि हुँदा चीनतर्फको निर्यातमा १ दशमलव ४ प्रतिशतले कमी आएको छ ।

त्यस्तै, आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु आयात ५९ दशमलव ५ प्रतिशतले वृद्धि भई ८३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकको आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४ दशमलव ६ प्रतिशत, ५७ दशमलव ८ प्रतिशत र १११ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४ दशमलव ७ प्रतिशतले वृद्धि भई ७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १० दशमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात/आयात अनुपात १२ दशमलव ३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ५ प्रतिशत थियो ।

यता, चालु आर्थिक वर्षको पाँच महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १ दशमलव ७ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी (कर्जा प्रवाह) ११ दशमलव १ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ दशमलव ९ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी वृद्धिदर ३० दशमलव १ प्रतिशत छ ।

चालु वर्षको मंसिरमा नेपालको मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा माथि छ । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ७ दशमलव ११ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७७ को मंसिरमा नेपालको मूल्य वृद्धिदर २ दशमलव ९३ प्रतिशत थियो ।

प्रतिक्रिया