शनिबार, जेठ ४, २०८२

के ओमिक्रोनको लहर सुस्तियो ?

नेपालखोज २०७८ माघ ४ गते ९:१५

काठमाडौं । संसार अहिले कोरोनाको तेस्रो लहरले ग्रसित छ । संसारभर मानिसहरु तीव्र गतिमा फैलने ओमिक्रोन भेरिएन्टले संक्रमित भइरहेका छन् ।

नेपालसहित संसारका थुप्रै देश अहिले ओमिक्रोनको जोखिममा छन् । यद्यपि के पनि भनिँदै छ भने यो भेरिएन्ट डेल्टा भेरिएन्टभन्दा कम खतरनाक छ र यसको समस्या शरीरमा ५ देखि ७ दिन मात्र रहन्छ । यसमा अस्पताल पुर्याउनुपर्ने बिरामीको संख्या पनि तुलनात्मक रुपमा कम छ । मृत्यु दर पनि कमै छ । तैपनि यो भेरिएन्ट पहिलेको तुलनामा ७ गुणाभन्दा बढी संक्रामक पाइएको छ ।

यसबीच विश्व स्वास्थ्य संगठनले अफ्रिका महादेशमा ओमिक्रोनको लहर बिस्तारै कम हुँदै गएको जानकारी दिएको छ । ६ साताको लगातार वृद्धिपछि अफ्रिकामा ओमिक्रोनको लहर सुस्त देखिन थालेको हो । ११ जनवरीसम्म अफ्रिकामा १०.२ लाख बिरामी फेला परेका थिए । अफ्रिका जहाँ संक्रमितहरुको संख्या निकै बढी थियो त्यहाँ गएको साता संक्रमितको संख्या १४ प्रतिशतले घटेको पाइएको छ ।

दक्षिण अफ्रिकामा जहाँ ओमिक्रोनको पहिचान गरिएको थियो त्यहाँ पनि यो साता संक्रमणमा ९ प्रतिशतको कमी देखियो । यद्यपि, उत्तर तथा पश्चिमी अफ्रिकी क्षेत्रहरुमा संक्रमणको घटनामा अहिले पनि बढिरहेकै छ ।

उत्तर अफ्रिकामा गएको साता संक्रमितहरुको संख्यामा १२१ प्रतिशतको वृद्धि देखिएको थियो जसका कारण विश्व स्वास्थ्य संगठनले उक्त क्षेत्रमा बढी भन्दा बढी खोप लगाउनुपर्नेमा जोड दिइरहेको छ ।

अफ्रिकास्थित डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. मत्सिदिसो मोएती भन्छन्, ‘सुरुवाती संकेतअनुसार अफ्रिकामा कोरोनाको चौथो लहर तीव्र तर छोटो रह्‌यो । यद्यपि अहिले पनि त्यहाँ अस्थिरताकै अवस्था छ । अफ्रिकामा महामारीसँग जुध्न जे जस्ता उपाय अपनाउनुपर्ने हो त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । त्यसका साथै भ्याक्सिनेसनमा पनि थप जोड चाहिन्छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनोम घेबियसले हालसालै अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी अर्थात् एक अर्ब मानिसभन्दा बढीले कोरोनाविरुद्धको खोपको एउटै मात्रा पनि नपाएकामा चिन्ता व्यक्त गरेका थिए । भनिन्छ पूरा अफ्रिका महादेशमा जनसंख्याको केवल दश प्रतिशतले मात्र दुवै डोज खोप पाएका छन् ।

प्रतिक्रिया