कोभिड-१९ बाट जोगिन सचेतना आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९को सङ्क्रमणबाट जोगिन कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्यका मापदण्ड पालनाका साथै सचेतना पनि आवश्यक रहेको बताएका छन् । उनले कोभिड–१९ को नयाँ भेरियन्टले हाल जनस्वास्थ्यमा समस्या उत्पन्न गरेको उल्लेख गर्दै यसबाट बच्न कोभिड-१९ विरुद्धको खोप लगाउन, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा हात धुनेलगायतका सचेतनाको आवश्यकता औँल्याए ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आयोजित नवौँ बैठकमा प्रधानमन्त्री देउवाले कोभिड-१९को सङ्क्रमण रोकथामबारे जनतामा सचेतना जगाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गरे । उनले कोभिड-१९ बाट जोगिने सचेतनाबारे देशभरि अभियान चलाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै यसमा सहयोग गर्न सबै सङ्घसस्था तथा राजनीतिक दलहरुलाई आग्रह गरे ।
उनले बालबालिकालाई पनि कोभिड-१९ विरुद्धको खोप लागाउनुपर्ने देखिएको भन्दै त्यसका लगि आवश्यक प्रबन्ध गर्न निर्देशन दिए । कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट मृत्युदर कम भए पनि यो द्रूत गतिमा फैलिएकोप्रति सजग गराउँदै उनले भने, ‘खुला सिमानाबाट मानिसको आवतजावतले डरलाग्दो अवस्था आउन सक्छ, जनताको ज्यान जोगाउनु सरकारको पहिलो कर्तव्य हो, यसमा सबै लागौँ ।’
सिमानामा कोभिड–१९ को पर्याप्त मात्रामा परीक्षण गर्न र आवश्यक मात्रामा होल्डिङ सेन्टर तत्काल स्थापना गर्नुपर्ने बताउँदै उनले जनताको जीवन रक्षाका लागि आवश्यक मात्रामा कोभिड–१९ विरुद्धको बुष्टर डोज तत्काल खरिद गरी सहजताका साथ मुलुकभर वितरण गर्न निर्देशन दिए । प्रधानमन्त्री देउवाले केही महिनाअघि आएको बेमौसामी वर्षाले मुलुकभर भएको जनधनको क्षतिको आवश्यक राहत र क्षतिपूर्तिको काम हुन नसकेको बताउँदै त्यसमा ध्यान दिनसमेत सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रतिक्रिया