२२ वर्षीय निवेश एमालेको देशकै कान्छा जिल्ला सदस्य

काठमाडौं । रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव एमाले नेता प्रभु साह निकट मानिन्छन् ।
आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा यादव निर्वाचित भए । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । २०५५ फागुनमा रौतहटको राजदेवी नगरपालिका–७ मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय छन् । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई २८ देखि ३० पुससम्म पोखरामा सम्पन्न सचिवालय बैठकबाट ९औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ ।
सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने यादव २०७० सालमा विद्यालयमा विभिन्न सुधारका विषय उठाएर संघर्ष गर्दा चर्चामा आए । दुई वर्षदेखि उनी भूगोल केन्द्रित राजनीतिमा सक्रिय छन् । उनले मदन भण्डारी मेमोरियल कलेजबाट मानविकी संकायमा उच्च माध्यमिक तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिशास्त्र र पत्रकारिता विषयमा स्नातक गरेका हुन् ।
यादवले करिब चार वर्ष राष्ट्रियस्तरमा पत्रकारितासमेत गरेका छन् । एपीवान टेलिभिजन केन्द्रीय कार्यालयमा स्थापनाकालदेखि करिब दुई वर्ष संवाददाताको रूपमा काम गरेका यादवले न्युज २४ टेलिभिजन तथा हिमालय टेलिभिजनमा समेत काम गरेका छन् । केपी ओली नेतृत्वको सरकारमा प्रभु साह सहरी विकासमन्त्री हुँदा यादव उनको प्रेस सल्लाहकार थिए ।
यादव पत्रकारिता छाडेर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपामा आबद्ध भएका थिए । नेकपा विघटनपछि उनी एमालेमै रहे । उनी मधेसमा प्रभु साहको दबदबालाई कायम गर्न चाहन्छन् ।

प्रतिक्रिया