प्रचण्डले भने- माओवादीको मर्मअनुसार प्रदेश २ को नाम ‘मधेस’

नेपालखोज २०७८ माघ ५ गते ११:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ को नाम संघीयताको मर्मअनुसार ‘मधेस’ राखिएको भन्दै बधाई दिएका छन् । उनले आज सामाजिक सन्जालमार्फत आफू नेतृत्वको पार्टीले उठाउँदै आएको पहिचनासहितको मर्मलाई प्रदेश २ मा स्थापित गर्न सफल भएको बताए ।

प्रदेशको नाम मधेस राखिएको भन्दै प्रदेशसभा सदस्य तथा प्रदेशवासीलाई बधाई दिएका हुन् । उनले लेखेका भने‚ ‘हाम्रो पार्टीले उठाउँदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं. २ को प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेश मुकाम राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।’

प्रदेश २ प्रदेशसभा बैठकले सोमबार प्रदेशको नाम मधेस र प्रदेश राजधानी जनकपुरधाम राख्ने निर्णय गरेको थियो । प्रेदशको नाममा सहमति नभएपछि भएको मतदानमा कुल ९९ सांसदले भाग लिएका थिए । जसमा मधेश प्रदेशका पक्षमा ८० मत खसेको थियो । त्यस्तै राजधानी जनकपुरधामको पक्षमा ७८ मत खस्यो । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलले पक्षमा मत हालेका थिए ।

प्रतिक्रिया