शुक्रबार, वैशाख ७, २०८१

कञ्चनपुरमा हजार क्षमताको होल्डिङ सेन्टर निर्माण

नेपालखोज २०७८ माघ ५ गते १९:३८

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । कम्पनीका अनुसार हाल बेड फिटिङको कार्य चलिरहेको छ । कम्पनीले विद्युत होल्डिङ सेन्टरमा विद्युत आपूर्तीको लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ । होल्डिङ सेन्टरको नब्बे प्रतिशत भन्दा बढी प्रगती भएको छ ।

सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निमार्णको कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निमार्ण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ ।

२९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे पन्ध्र करोड रुपैँया भुक्तानी लिएको अवस्था छ । तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग छन् । निर्माण भएका सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूर्ण सेवासुविधासहित होल्डिङ सेन्टर निर्माण भएको छ । संरचनागत भवन सबै निर्माण भएको र खाली फिटिङको काम मात्रै बाँकी रहेको छ । पुस मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने होल्डिङ सेन्टरको भुक्तानीका कारण ढिलाई भएको ठेकेदार कम्पनीले जनाएको छ ।

कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गर्दै निर्माण सुरु गरिएको होल्डिङ सेन्टर अबको केही समय भित्रै सेन्टरको निर्माण कार्य सम्पन्न गर्ने समेत ठेकेदार कम्पनीले जनाएको छ । नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल÷आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

त्यस्तै होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा भएपनि यसलाई कसले कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्ने विषयमा भने अन्यौलता रहेको छ । होल्डिङ सेन्टरको ३ सय वेड तयारी अवस्थामा छन् । जिल्लाभर अहिले कोरोना संक्रमण दर बढिरहेको छ । जिल्लाको एक मात्र महाकाली अस्पतालमा दिनानुदिन संक्रमितहरु बढिरहेको अवस्था छ । भारतसँग खुल्ला सिमाना भएको जिल्ला प्रत्येक दिन सयौंको संख्यामा नेपाली स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ ।

निर्माणको चरणमा रहेको होल्डिङ सेन्टरलाई सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले हेरिरहेको छ । तर सम्पन्न होल्डिङ सेन्टर सम्पन्न पछाडि पनि नेपाली सेनाले या कसले कसरी सञ्चालन गर्ने विषय भने स्पस्ट रुपमा तय नहुँदा सञ्चालनमा अन्यौता छाएको छ ।

यता जिल्ला प्रशासन कार्यालयले भने नेपाल सरकारको माघ २ गतेको निर्णयअनुसार सञ्चालन गर्ने जनाएको छ । होल्डिङ सेन्टर निर्माणपछि भने जिल्लामा बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न केही सहज तथा सहयोग पुग्ने विश्वास लिइएको छ । जिल्लामा हालसम्म ९ हजार २ सय ८० जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया