बिहीबार, जेठ ३, २०८१

सम्बन्ध !

कृष्ण बजगाईं २०७८ माघ ८ गते ७:५४

‘लोग्ने स्वास्नीको सम्बन्ध नट बोल्ट जस्तै हुनुपर्दछ ।’ उसले विवाहमा पाएको आशिर्वादरुपी उपदेशको सोही वाक्य परदेशमा सम्झिरहन्थ्यो । आफूलाई नट र श्रीमतीलाई बोल्ट मानेको थियो । बिहे गरेको महिना दिनमै बोल्टलाई घरमा छाडेर नट चाहीँ अरब हिँड्नु पर्‍यो ।

संयोगवश अरबको तातो घाममा उसले नट बोल्ट कस्ने जागिर पाएको थियो । पचास तला बन्ने गगनचुम्बी घरको भुईं तलाबाट उसले नट बोल्ट कस्न थालेको थियो । म्यानेजरले सबै कामदारहरूलाई तीन वर्षमा काम सक्नु पर्ने समय सीमा तोकि दिएको थियो । इमान्दार भएर उसले नट बोल्ट कसिरह्यो ।

पहिलो महिनाको तलबले श्रीमतीलाई नयाँ मोडलको मोबाइल फोन पठाई दियो । त्यही फोन मार्फत दैनिकरूपमा सम्बन्धरुपी बोल्टमा प्रेमको नट कसिरहन्थ्यो । फोनमा श्रीमतीले देखाउने घुर्की र नखरा उसलाई खुब मन पर्दथ्यो । जब उसको घर फर्कने दिन नजिकिन थाल्यो तब श्रीमतीले घुर्की र नखरा होइन विवाद गर्न थाली । उ चिन्तित बन्यो ।

भोलि साँझ घर फर्कने टिकट थियो । किन हतार गरेर घर फर्कनु परेको होला । अझै दुईचार वर्ष उतै बसेर पैसा पठाउनु भन्ने श्रीमतीको कुरालाई उसले ठाडै अस्विकार गर्‍यो । सोही कारण श्रीमतीसँग फेरि झगडा पर्‍यो ।

थोरै काम बाँकी भएकोले घर फर्कने अघिल्लो दिन पनि दुःखी मन लिएर नट बोल्ट कस्न गयो । तीन वर्षको समयमा त्यस भवनमा उसले हजारौं नट बोल्ट कसिसकेको थियो । कामदार साथीहरुसँग मिलेर कसेको नट बोल्टमा अडिएको घरको पचासौं तलाको भइसकेको थियो । उसको भागमा परेको अन्तिम नट कस्न आँटेको थियो । बिहान श्रीमतीसँग फोनमा भएको झगडा कानमा गुञ्जियो । अचम्म, जब उसले नट कस्न थाल्यो तब उसको र श्रीमतीको सम्बन्ध जस्तै खुकुलो भएर नट खुस्किरह्यो । प्रचण्ड तातो घाममा त्यो नट कस्दाकस्दै अचानक उ पचास तलामाथिबाट फ्यात्त भुईंमा खस्यो ।

‘ए…ए.. फेरि अर्को नट खस्यो !’ छेउमै नट बोल्ट कस्न बसेको उसको साथीले चिच्याउँदै भन्यो ।

प्रतिक्रिया