शुक्रबार, चैत १६, २०८०

बानेश्वरको नामकरण

श्रीहरि अर्याल २०७८ माघ ८ गते १३:४८

वि.सं. २०११/०१२ सालतिरको बानेश्वर धेरै बस्ती भएको ठूलो गाउँ जस्तो थियो । अहिले पनि धेरै बस्ती पहिलेकै नामले पुकारिन्छ । जस्तो– मगरगाउँ, गिरीगाउँ, बाहुनगाउँ, पराजुली गाउँ आदि । सार्कीगाउँ पनि छ, तर अहिले त्यो नाम भनिँदैन ।

अहिले निजामती अस्पताल रहेको ठाउँमा मीनशम्शेरको दरबार थियो । मीनभवन बनेपछि त्यस वरपरका बस्तीहरुलाई पनि मीनभवन भन्न थालियो । अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएको ठाउँलाई त्यो बेला ब्यारेक भन्थे । त्यतिबेला अहिलेको बत्तीसपुतली–गौशालासम्मलाई नै बानेश्वर भनिन्थ्यो । वडा नम्बर १० र ३१ को पारीपट्टि अहिले पनि ‘पुरानो बानेश्वर’ लेखेको साइनबोर्ड भेटिन्छ ।

त्यतिबेला डिल्लीबजारबाट बानेश्वर आउने एउटा सडक थियो । बबरमहलबाट ब्यारेक आउने अर्को सडक थियो । १९९३/९४ सालतिर मीनशम्शेरका लागि अर्को दरबार बन्यो । त्योबेला अरु बाटोघाटो थिएन, जसको खेतको आलीबाट पनि मानिसहरु आउजाउन गर्न पाउँथे, रोकटोक थिएन । वस्तुभाउले बाली खाइदेलान् भनेर कतिपय ठाउँमा ठूलो आली बनाएर काँडाघारी उमारिएका हुन्थे ।

०२०/२१ सालतिर जगदिशशम्शेर राणाले बानेश्वर हाइटको बाटो बनाए । त्यहाँ उनले निकै जग्गा किनेछन् । तल एउटा घर रहेछ । आफ्नो जग्गामा जान बाटो चाहियो भनेर उनले त्यो घरपनि किनेर बाटो खुलाए ।

पहिला हात्तीगौंडामा राजा त्रिभुवनको हजुरिया कर्णेल बस्ने घर थियो । त्यो घरसम्म आउन हात्ती हिँड्ने बाटो थियो । अहिले एभरेष्ट होटल भएको ठाउँमा कर्णेल गणेशबहादुरको घर थियो । छक्कुबक्कु भगवती मन्दिरबाट त्यहाँसम्म मुश्किलले बग्गी जाने बाटो थियो ।

भीमसेनगोलामा श्यामबहादुर शाह (बहादुर शाहका सन्तान) बस्थे । श्यामबहादुर सायद बहादुर शाहका पनाती थिए । उनी भीम शम्शेर राणाको हजुरिया कर्णेल थिए । त्यहाँसम्म पनि बग्गी आउने बाटो थियो । त्यो बाहेक जनता जनार्दनका लागि आ–आफ्नो गोरेटो बाहेक कुनै बाटो थिए ।

०२६/२७ सालतिर भक्तपुर–माइतीघर सडक बन्यो । बागबजारको बसपार्कबाट दुई तिरबाट गाडी चल्न थाले । म त्यतिबेला जागिर खान थालेको थिएँ, बस चढ्न जाँदा कण्डक्टरहरुले ‘कुन बाटोबाट जाने, नयाँ कि पुरानो बानेश्वरबाट ?’ भनेर सोध्थे । त्यसरी भक्तपुर जाने मिनिबसका कण्डक्टरहरुले पुरानो र नयाँ बानेश्वर नामाकरण गरिदिएका हुन् ।

पुरानो बानेश्वर जाने बस डिल्लीबजार हुँदै र नयाँबानेश्वर जाने भन्यो भने माइतीघर हुँदै आउँथ्यो । यी दुई बानेश्वरले नपुगेपछि मानिसहरुले ‘मध्य बानेश्वर’ पनि लेख्न थाले । अनि त बुद्धनगर, शान्तिनगर, सुरुची गाउँ आदि अनेक नाम जन्मिए ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको पुस्तक बानेश्वरको सेरोफेरोबाट ।

प्रतिक्रिया