शुक्रबार, असार १३, २०८२

गण्डकी प्रदेशमा २६८ स्वास्थ्यकर्मी संक्रमित

नेपालखोज २०७८ माघ ८ गते ११:३०

पोखरा । पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका छन् । प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिएका छन् । उनका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी संक्रमित छन् ।

तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बागलुङ ११, पर्वत १०, म्याग्दी नौ, गोरखा छ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जनाइएको छ । हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन् । निर्देशनालयले संक्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ ।

प्रतिक्रिया