उद्यमशीलता विकास कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । नेपाल उद्योग परिसंघ ओमन लिडरसिप फोरम, नबिल बैंक लिमिटेड र महिला शक्ति विकास केन्द्र नेपालबीच महिला उद्यमीहरूलाई वित्तीय प्रणालीमा पहुँच, प्रोत्साहन तथा प्रेरित गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघ ओमन लिडरसिप फोरमका संयोजक छाया शर्मा, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा महिला शक्ति विकास केन्द्र नेपालकातर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुुन् ।
नेपाल उद्योग परिसंघ ओमन लिडरसिप फोरमले महिलाहरूलाई उद्यममा आबद्ध बनाउने उद्देश्यसाथ फोरम गठन भएदेखिनै नबिल बैंक र महिला शक्ति केन्द्र नेपालसँग छलफल सञ्चालन गर्दै आइरहेको थियो । सोहीअनुरूप, महिलाहरूलाई वित्तीय साक्षरता, आर्थिक गतिविधि, जीवनस्तरको विकासलगायतमा सहयोग तथा पहुँच प्रदान गर्ने उद्देश्यले समझदारी भएको हो ।
संयुक्त राष्ट्र संघको दिगो विकासको अवधारणामा समेत उल्लेखित महिलाहरूको वित्तीय सशक्तीकरणले यसको महत्त्वलाई दर्शाएकाले आर्थिक आत्मनिर्भरताले मात्र महिलाहरूलाई टेवा पुग्ने नेपाल उद्योग परिसंघ ओमन लिडरसिप फोरमका संयोजक छाया शर्माले बताएकी छन् ।
यसैगरी महिला शक्ति विकास केन्द्र नेपालका कार्यकारी निर्देशक कविता गुरुङले महिलाका लागि नेतृत्व विकास, सामाजिक उत्थान तथा जीवनस्तर विकासका मुद्दाहरूमा यस केन्द्रले कार्य गर्दै आइरहेको र समझदारीबाट महिला उद्यमीहरूलाई आर्थिक रूपमा समेत सबल बनाउने कुरामा विश्वस्त रहेको बताइन् ।
साथै, नबिल बैंकका कार्यकारी निर्देशक अनिलकेशरी शाहले हस्ताक्षर गरेर मात्रै समझदारीपत्रको उद्देश्य पूर्ण नहुने भएकाले यसको कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गरे । हाल विश्वभर र नेपालमा समेत तीव्र रूपमा फैलिरहेको कोरोना महामारीको सन्त्रासबाट समेत जोखिम उठाएर दृढताका साथ उपलब्धि हासिल गर्न तीनवटै पक्ष उत्तिकै जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताए ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले ग्रामीण विकास बैंकको सफलता त्यहाँ महिला निक्षेपकर्ताको कारणले भएको र महिला नेतृत्वलाई आर्थिक रूपमा जोड्ने यस प्रकारको प्रयासले निकट भविष्यमा देशमा महिला नेतृत्वको वर्चस्व रहने विश्वास व्यक्त गरे ।
एक वर्षको रहेको सम्झौताले दिगो विकास, साना तथा मझौला उद्यमीहरूलाई ऋणको सरल व्यवस्थाका साथै विविध वित्तीय साक्षरतासम्बन्धी तालिम, गोष्ठी तथा छलफलका गतिविधिहरू सञ्चालनका लागि तीनवटै पक्ष सहमत भएका छन् । कार्यक्रममा नेपाल उद्योग परिसंघ ओमन लिडरसिप फोरम, नबिल बैंक लिमिटेड तथा महिला शक्ति विकास केन्द्र नेपालका पदाधिकारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया