मंगलबार, वैशाख २५, २०८१

‘स्थानीय तहको निर्वाचन संविधानबमोजिम हुनुपर्छ’

नेपालखोज २०७८ माघ ८ गते २२:४८

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसद्‌सम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका छन् ।

चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार डा. मिता सिंहको पुस्तक द स्ट्रगल अफ गणेशमान सिंहको लोकार्पणपछि पत्रकारहरुले राखेका जिज्ञासामा स्थानीय तहदेखि संघीय संसद्‌सम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताए । संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्ने बताउँदै उनले स्थानीय तहको निर्वाचन संविधानबमोजिम हुनुपर्ने बताए ।

संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँचदलीय गठबन्धन सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भएको उनको भनाइ थियो । ‘त्यसै बनेको गठबन्धन सरकार होइन । यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरुमध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’

झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरीत गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए ।

प्रतिक्रिया