आइतबार, वैशाख १४, २०८२

माघ १० र १२ गतेका दुई प्रसंग !

नेपालखोज २०७८ माघ १३ गते १७:१४

७८ वर्षअघि १९९७ साल माघ १० गते बिहीबार राति १२ बजे, पचली (टेकु) को ठूलो खरीको रुखमा झुन्ड्याइएको थियो- शुक्रराज शास्त्रीलाई । भनिन्छ त्यस रात नरशमशेर, हरिशमशेर, रंगविक्रम, जेलर खड्गबहादुर सुनुवार र अरु सिपाहीहरु शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिन खरीको रुखनजिकै पुगेका थिए । रुखमा फाँसीका लागि दिउँसै डोरी बाँधिएको थियो । यसैबेला भोज खाएर एक हुल मानिस त्यही बाटो आउँदा विद्रोही जनता आक्रमण गर्न आएको सोचेर तिनीहरु त्यहाँबाट भागेका थिए । पछि नरशमशेर तथा अन्य फर्केर आएपछि शुक्रराज शास्त्रीले म तिमीहरु जस्तो डरपोक होइन भन्दै आफैंले आफ्नो गलामा डोरी छिराएर प्राण त्याग गरेका थिए ।

भोलिपल्ट बिहान वाग्मती नुहाउन गएकाहरुले झुन्डिएको लाश र छातीमा झुन्ड्याईएको बोर्डमा लेखिएको ‘भर्खर शिक्षा पाएका नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाउने र राजकाजमा समेत चलेको हुनाले यस्तो सजाय भयो’ भन्ने पढेपछि तीनै सहरमा हल्ला फैलियो । कसैले लाश उठाउने आँट गर्न सकेनन् । सबैले टाढैबाट श्रद्धाञ्जली दिए । राति दाजु अमरराजका छोरा तथा सहिद शुक्रराजका भतिजाहरु प्रयागराज र भानुराजलाई पुलिसले लाश उठाउन लगाए । यसमा केवल दश वर्षका बालक भानुराजलाई सरिक गराइयो । राणाको निरंकुश कानुनले दश वर्षीय बालकलाई केही नगर्ला भन्ने मनशायले यस्तो गराइएको थियो । जाडोको रात कठिनसँग दाहसंस्कार गरेर फर्केकाहरुलाई बिहानै पुलिसले घेराउ गरे । सानो बालकलाई कारबाही गरिएन तर ठूला प्रयागराजलाई झुन्डिएर मरेकोलाई दागबत्ती दिएको आरोपमा पतिया लिन लगाए ।

यसैगरी धर्मभक्त माथेमालाई तत्कालीन राणा शासकहरूले झुन्ड्याएर हत्या गरेको दिन ७७ वर्षअघि वि.सं. १९९७ माघ १२ गते हो । ‘वर्ल्ड फोटो अफ नेपाल’ अनुसार : धर्मभक्त माथेमा बाल्यकालमा निकै दुब्लो-पातलो हुनुहुन्थ्यो । दुब्लो पातलो भएका कारण उहाँलाई साथीहरुले निकै गिज्याउँथे । माथेमा कलकत्तामा पढ्दा शरीर बनाउन जिमखाना भर्ना हुनुभयो । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हासिल गरेर उहाँ बंगाल च्याम्पियनसमेत बन्नुभएको थियो ।

उहाँले काठमाडौं फर्केर ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना स्थापना गर्नुभयो । उहाँको जिमखानामा धेरै युवा जिम गर्न आउँथे । उहाँको जिमखान यतिसम्म चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरीहरुसमेत जिमका लागि आउँथे ।

एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उहाँको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित हुनभयो । पछि त्रिभुवनले उहाँलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त गर्नुभयो ।

No description available.

राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले विक्रम संवत १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषद्‌को स्थापना गर्नुभयो । राजा त्रिभुवनको उपस्थितिमा काठमाडौंको लैनचौरमा प्रजा परिषद्‌को गोप्य बैठक बसिरहेका बेला उहाँलगायत धैरैजनालाई पक्राउ गरियो । उहाँलाई राणाहरुले १९९७ माघ १२ गते सिफलमा बकैनाको रुखमा झुन्ड्याएर हत्या गरेका थिए । पहिलोपटक रूखमा झुन्ड्याउँदा रूखको हाँगा भाँचिएकाले उहाँलाई दोस्रो पटक झुन्ड्याइएको थियो । शहिद शुक्रराज शास्त्री एवं धर्मभक्त माथेमाप्रति हार्दिक श्रद्धाञ्जली ।

यो सामग्री हामीले सुनील उलक‘वर्ल्ड फोटो अफ नेपाल’ को सामाजिक सन्जालबाट साभार गरेका हौं ।

No description available.

प्रतिक्रिया