‘सहकारीलाई अगाडी बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण’

नेपालखोज २०७८ माघ १३ गते १८:४७

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मुल्य र मान्यताअनुसार सहकारीहरुलाई अगाडी बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

आज मन्त्रालयमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्षमा नियुक्त भएका मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान र प्रतिवद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पाएको भन्दै सहकारी क्षेत्रलाई सहि दिशामा लैजान बोर्डले अहम् भुमिका खेल्नु पर्ने बताईन् ।

सहकारी बोर्डको अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउदै देशको सापेक्षता र मौलिक ढंगबाट अगाडी बढाउनु पर्नेमा जोड दिईन् ।

उनले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्वे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौति र अवसर दुवै रहेकाले सम्भावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा समेत जोड दिईन ।

प्रतिक्रिया