नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही, बिमा समितिले कति तिरायो जरिवाना ?

काठमाडौं । बिमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । नेपाल लाइफलाई कारबाही स्वरूप १० हजार रुपैयाँ जरिवाना तिराएको बिमा समितिले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले बिमा समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रबन्धकमा नियुक्त गरेको थियो । समितिबाट जारी संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्थाबमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गरिएको थियो ।
‘समितिमा उजुरी प्राप्त भएपछि त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन विवरण झिकाइ अध्ययन गर्दा कम्पनीले समितिबाट जारी संस्थागत सुशासनसम्बन्धी तोकिएको व्यवस्थाबमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रबन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लंघन गरेको देखिएको छ,’ बिमा समितिद्वारा विज्ञप्तिमा छ ।
बिमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको छ । समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन ।’
व्यवस्थाविपरति नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न १४ समिति/उपसमितिमध्ये सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल आठवटा र विमल ढकाल तीनवटा समिति/उपसमितिमा संयोजक छन् ।
समितिबाट जारी निर्देशनको जानीजानी उल्लंघन गरेकाले बिमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैैयाँ जरिवाना तिराइएको छ ।

प्रतिक्रिया