५ बिघामा लगाइएको आलु डडुवा रोगले नष्ट

नेपालखोज २०७८ माघ १५ गते ७:३२

मान्म । कालीकोटको खाँडाचक्र नगरपालिका ११ स्थित रेगिल गाउँका किसानले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिघामा लगाएको आलु बाली नष्ट भएको हो ।

आलुबाट आम्दानी राम्रो हुने भएकाले पूरै गाउँका किसानले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय मनसरा शाहीले बताइन् । ‘विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं,’ उनले भनिन्, ‘यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ ।’

नगरपालिकाको कृषि शाखाबाट अनुगमन गर्दा डडुवा रोगबाट आलु नष्ट भएको जानकारी आएको नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘डडुवाले आलु नष्ट भएका किसानलाई राहत दिइनेछ ।’

केही बारीमा रोगले छुन नसकेपनि केहीबारीमा पूरै नष्ट भएको नगरपालिका कृषि शाखाका प्रमुख भक्तिप्रसाद पाण्डेले जानकारी दिए । ‘हामीले अनुगमन गर्दा रासायनिक विषादी प्रयोग गरेको तर प्राविधिक सरसल्लाहविना प्रयोग गरेको देखिएको हुनाले एकदमै डडुवा रोगको समस्या आएको पायौं,’ उनले भने, ‘रोग नियन्त्रण गर्न आवश्यक प्रक्रिया थालेका छौं ।’ -रासस

प्रतिक्रिया