तीन तहको निर्वाचन पाँच दलीय गठबन्धन एक भएर सामना गर्छ : माधवकुमार नेपाल

नेपालखोज २०७८ माघ १५ गते १४:१७

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले शनिबार काठमाडौं आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा चुनावबाट आफूहरु नआत्तिएको स्पष्ट पारे ।

आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दावी समेत नपालले गरे । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्ता गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरोप लगाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्ता गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताइ । उनले भने, ‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने सामना गर्न तयार छौं । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रिय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । चुनावबाट हामी आत्तिएका छैनौं ।’

उनले जनतामा जाने कुराले खुसी मिल्ने बताए । उनले चुनावबाट नेकपा एमाले आत्तिएको आरोप लगाए । उनले गठबन्धन पनि तोड्न खोजेको आरोप लगाए । उनले भने, ‘स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसावको प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु । र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर भनि सकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यक्ता छैन ।’

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राखे । अध्यक्ष नेपालले कांग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरुको सहमतीमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको स्पष्ट पारे ।

प्रतिक्रिया