कानुनविद्ले भने- स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्नु हुँदैन

काठमाडौं । कानुनविद्हरुले वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्न नहुने तर्क गरेका हुन् ।
एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौंतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष समेत रहेका भट्टराईले पहिलो चरणमा सम्पन्न भएको निर्वाचनलाई आधार मानेर स्थानीय तहको निर्वाचन हुने अन्तराष्ट्रिय मान्यता रहेको पनि स्मरण गराए । उनले स्थानीय तह पदाधिकारी विहीन हुने परिकल्पना संविधानले नगरेको स्पष्ट पारे ।
त्यस्तै, नेपाल बार एशोशिएशनका पूर्वमहासचिव पोखरेलले जेठ ५ गतेभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने संविधानमा किटानी व्यवस्था भएको बताए । उनले स्थानीय तहको निर्वाचन समयमै नभए स्थानीय तह जनप्रतिनिविहीन हुने अवस्था आउनेतर्फ पनि सचेत गराए । महासचिव पोखरेलले दलहरुले संविधान र कानुन विपरित भएर स्थानीय तहको निर्वाचन सार्न नमिल्ने बताए ।

प्रतिक्रिया