‘राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरण आवश्यक’

नेपालखोज २०७८ माघ १६ गते १३:५७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । आज सहिद दिवसको अवसरमा प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताए ।

सहिद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा सहिद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको बताए । उनले सहिदहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले सहिदका परिवारलाई सहयोग गर्ने तथा सहिदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताए । मन्त्री देउवाले सहिदहरुले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको बताए । सहिदहरुको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने देउवाको भनाई छ ।

प्रधानमन्त्री देउवाले देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताए । लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने देउवाले बताए । प्रधानमन्त्री देउवाले भने, ‘सहिदहरुको बलिदान र आहूतिबाट नै आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन प्रणाली स्थापित हुन सकेको छ । जनतामा राजनैतिक, सामाजिक चेतनाहरु फैलाउन तथा नागरिकहरुलाई आफ्नो हक अधिकारप्रति सचेत बनाइ मुलुकको अन्याय, अत्याचार र स्वेच्छाचारी शासनलाई उन्मुलन गर्ने सहिदहरुको उच्च योगदानप्रति हामी सबै नेपालीहरु नतमस्तक छौँ ।’

सहिदहरुले देखेको सपनालाई साकार तुल्याउन सबै आफ्नो क्षेत्रबाट प्रतिवद्ध भई लाग्नुपर्ने खाँचो रहेको देउवाले बताए । उनले भने, ‘सहिदले परिकल्पना गरेअनुसार सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता तथा आर्थिक, सामाजिक अधिकार प्रयोग गर्न सक्ने सम्मको मुलुक निर्माण गर्ने राष्ट्रको दायित्व हो । सहिदको योगदानलाई चिरस्थायी बनाउन नेपाल सरकारले सहिदहरुको नाममा विभिन्न मार्ग प्रस्थानको नामाकरण गर्ने, पुस्तकालय स्थापना गर्ने, शहीदहरुको जीवनीसँग सम्बन्धित कुराहरुलाइ प्रकाशन गर्ने, युवा पुस्तालाई जागरुक बनाउने, सहिदका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका कामहरु गर्दै आइरहेको छ । यस्ता कामहरुलाई राजनीतिवृत्तमा थप बिस्तार गरी शहीद परिवारलाई सक्दो सहयोग प्रदान गर्न सरकारले ध्यान दिनेछ । मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा सहिद भएका सबै शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु ।’

प्रतिक्रिया