वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना

नेपालखोज २०७८ माघ १६ गते १४:४४

काठमाडौं । सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आज सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन् ।

कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई गर्नका लागि ११४१ अर्थात् १६६००१५०००५ मा निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ, भने callcenter@feb.gov.np इमेलको पनि व्यवस्था गरिएको छ । नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैंले सो कल सेन्टर स्थापना गर्नु परेको मन्त्री श्रेष्ठले बताए ।

उनले कल सेन्टरमा गुनासो आउने बित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाए । मन्त्री श्रेष्ठले करिव एक महिनायता भिजिट भिसामा गएकाहलाई विचौलियाहरुले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुनेगरी काम गर्न पनि सो सेन्टरको आवश्यक्ता महसुुस गरिएको स्पष्ट पारे ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा गएकाहरुबाट ठगी गरिएको असुल गरिएको रकम तत्काल फिर्ता दिन पनि विचौलियाहरुलाई अपिल गरे । उनले त्यस काममा सहयोगी भूमिका निर्वाह गर्न सञ्चार माध्यामहरुलाई पनि पटकपटक आग्रह गरे । ६ जना कर्मचारीहरुले सो कल सेन्टरबाट चाैबीसै घण्टा सेवा दिनेछन् ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो सुनुवाई गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे । उनले सो कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनिकरण गर्दै लैजाने विश्वास समेत व्यक्त गरे ।

सो कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया