शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतिहरु नीजि क्षेत्रलाई प्रयोग गर्न नदिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतिहरु नीजि क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् । आईतबार मन्त्री पौडेलले केशर महलको निरिक्षण गर्दै महल परिसरमा रहेको जमीन नीजि क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन् ।
उनले विभिन्न सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा नीजि क्षेत्रलाई नीजि प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरिक्षण गरेको बताए । उनले सरकारी संरचनाहरु नियमविपरित नीजि क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि बताए ।
मन्त्री पौडेलले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय कामहरु व्यवस्थित गर्नको निम्ति भौतिक ठाउँहरुको अभाव भएको समेत बताए । उनले अबको ६ महिनाभित्रमा केशरमहलको काम सक्नेगरी लाग्न पनि निर्देशन दिए । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम जारी रहेको छ ।
केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचनालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रारुपबारेको छलफलमा स्वप्न बगैँचा विकास समितिलाई केशर महल विकास समिति बनाएर भौतिक संरचनालाई व्यापारिक कार्यमा प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको बताइएको छ ।
केशरमहल ३४ रोपनी, दुई आना, एक पैसा, तीन दाम क्षेत्रफलमा फैलिएको छ, भने त्यहाँ स्थित स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ ।

प्रतिक्रिया