एमाले अध्यक्ष ओली १० वर्ष जेल जान सक्ने

नेपालखोज २०७८ माघ १६ गते १७:३६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आज उजुरी दिएका हुन् ।

उजुरीकर्ताले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरे । निवेदनमा भनिएको छ, ‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौं ।’

अध्यक्ष ओलीलाई कानुन अनुसार ३ वर्षदेखि १० वर्षसम्मको सजाय हुन सक्ने व्यवस्था छ । परिच्छेद–५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर अन्तर्गत ओली जेल जान सक्ने छन् । सङक्रामक रोग फैलाउन नहुने उक्त परिच्छेदमा भनिएको छ । कसूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्षसम्म कैद र एक लाखसम्म जरिनावाना हुने व्यवस्था रहेको छ । सो परिच्छेदमा भनिएको छ, ‘कसूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्षसम्म कैद बर एक लाख रुपैयाँसम्म जरिबाना, लापरबाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र हेलचेक्र्याइँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

निवेदकले ओलीलाई कारवाही गर्न निवेदन दिएको उल्लेख गरेका छन् । निवेदको भनिएको छ, ‘यसरी आफु कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउ ।’

प्रतिक्रिया