वाग्मती नदी किनारामा बनेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी

काठमाडौं । काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको वाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृतरुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।
समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्ती बाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना शनिबार जारी गरेको हो । मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्क भन्दा पनि नदी र सडकबीचको किनारामा अनधिकृतरुपमा बनेका अस्थायी तथा स्थायी संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए ।
उनले आज सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ती नदी किनारामा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पारे । सूचना अधिकारी अर्यालले ती नदी किनाराका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरुको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भईरहेको पनि जानकारी दिए ।
समितिका अनुसार थापाथली वाग्मती किनारामा मात्रै १४५ घरधुरी सुकुम्बासी बस्ती छ । त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायहरुसँग छलफल भईरहेको समितिले जनाएको छ ।
सो समितिले यसअघि यस्तै प्रकृतिको सूचना सार्वजनिक गरेर गोकर्णदेखि गुह्येश्वरी नदी किनारामा अनधिकृतरुपमा बनेका २७ वटा संरचनाहरु हटाउने काम गरेको थियो । समितिका सूचना अधिकारी अर्यालले आज भन्दा १५ दिन अघि सो खण्डमा अनधिकृतरुपमा बनेका २७ वटा संरचनाहरु हटाउने काम गरिएको बताए ।
समितिले वाग्मती नदीको शौन्दर्यमाथि आँच आउने अनधिकृतरुपमा बनेका सबै संरचनाहरु सम्बन्धित पक्षसँग अनुमति लिएर, छलफल गरेर हटाउँदै जाने पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया