विकासमा बाधाको प्रमुख कारण विकासमैत्री नीतिको अभाव : अर्थमन्त्री शर्मा

नेपालखोज २०७८ माघ १६ गते १९:०६

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताएका छन । आज मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताएका हुन् ।

त्यसैगरी उनले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताएका छन् । सबै समस्याहरूको जड राजनीति भएको बताउँदै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए । राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउने बारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनु पर्ने अवस्था रहेको उनको भनाइ छ ।

मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिवद्धता पनि व्यक्त गरे । छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धरासायी भइनसकेको बताए । यद्यपि, थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाए । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उनिहरुको सुझाव रहेको थियो ।

त्यस्तै कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायतका सुझाव समेत विज्ञहरूले दिए । छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्राडा विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै भारतका लागि नेपालका पूर्व राजदूत डा. दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा. रामकुमार फुयाललगायतको पनि उपस्थिति थियो ।

प्रतिक्रिया