क्यानडा प्रदर्शन : कोभिड खोपको विरोधमा दोस्रो दिन पनि राजधानी ओटावा ठप्प

काठमाडाैं । अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक ट्राइभरहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ । राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको उक्त प्रदर्शनमा हजारौं प्रदर्शनकारीहरू सहभागी भएका छन् ।
उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ ।
रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू ‘निन्दनीयभन्दा पर’ भएको बताइन् । ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई ‘अपवित्र’ पारेको बिषयमा अनुसन्धानहरू थालिएको जनाएको छ ।
त्यस्तै उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि दिइएको ‘धम्की र धम्कीपूर्ण व्यवहार’को पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरूमा ट्रक राखेर अवरुद्ध पारेका छन् । ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा सुप पसलका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेका छन् ।
उक्त रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए । प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले पनि सुरक्षा चिन्ताका कारण शनिवार ओटावास्थित आफ्नो घर छाडेका छन् । बीबीसी
प्रतिक्रिया