बिहीबार, वैशाख २०, २०८१

भारतीय रघुराम नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त

नेपालखोज २०७८ माघ १७ गते १२:०५

काठमाडौं । भारतीय हाई परफरमेन्स प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् । उनी नेपाली टिमको क्लोज क्याम्पको जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

अस्ट्रेलियाको हाई परफरमेन्स तेश्रो लेभल कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके यसअघि अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास फिल्डिङ प्रशिक्षक थिए ।

श्रीनिवास नेपाल आइपुगेकोमा प्रशिक्षक दासानायेकेले खुसि व्यक्त गरे । उनले भने, ‘प्रशिक्षक रघुले म अमेरिकामा हुँदा सँगै काम गरेका थिए । उनी निकै उर्जावान फिल्डिङ प्रशिक्षक हुन् । जसले नेपालको केही कमजोर पक्षमा काम गर्नेछन् । छोटो निम्तोमा पनि आफ्नो महत्वपूर्ण समय दिन आइपुगेकोमा म आभारी छु ।’

नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा टी–ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसअघि फेब्रुअरी ११ देखि चार देशीय टी–ट्वान्टी सिरिज खेल्दैछ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले १६ सदस्य टोली घोषणा गरेको छ । नेपाली टोलीले फेब्रुअरी दोस्रो साता ओमान जाने तयारी गरेको छ ।

ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । उद्धघाटन खेलमा फागुन नेपाल र ओमानबीचको खेल हुनेछ ।

फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छन् । नेपाल पनि २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने लक्ष्यका साथ तयारीमा छ । टि–ट्वान्टी विश्वकप छनोट अघि नेपाल, आयरल्यान्ड, ओमान र युएई गरि चार देशबीच टि–ट्वान्टी आई सिरिज हुनेछ ।

ग्लोबल टि–ट्वान्टी विश्वकप छनोट बी भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुने छ । छनोट बी मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । फाइनलमा पुग्ने दुई टोली विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया