बजेटको एजेन्डालाई लिएर गण्डकी प्रदेश सरकारका प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीसँग भेट

नेपालखोज २०७८ माघ १७ गते १५:१२

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको हो ।

चालु आर्थिक वर्ष २०७८/०७९ को गण्डकी प्रदेश सरकारको बजेटको एजेण्डालाई लिएर प्रधानमन्त्रीसँग भेटघाट गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले बताए ।

उनले विगतको सरकारले धेरै आयोजनाहरु बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरु प्रक्रियामा राखेको तर श्रोत सुनिश्चित नगरेका कारण आफ्नो सरकारमाथि १६ अर्बभन्दा बढीको दायित्व थपिएकोले त्यसलाई समाधान गर्नका लागि प्रधानमन्त्रीसँग भेटघाट गरेको पनि स्पष्ट पारे । मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवासँगको भेटमा प्रदेशको आर्थिक अवस्था र केन्द्रबाट गरेका अपेक्षाहरु लिखित र औपचारिक रुपमा बुझाएको पनि बताए ।

मुख्यमन्त्री पोखरेलले आफू नेतृत्वको प्रतिनिधिमण्डलले आजनै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई भेटेर जग्गा प्राप्तिको कानूनी जटिलताहरुलाई समाधान गरेर अघि बढ्ने कुरामा छलफल भएको पनि बताए । उनले कतिपय ठुला आयोजनाहरु वनसँग जोडिएको र वन प्रयोगको अधिकार केन्द्रिय सरकारसँग मात्रै भएकोले त्यसलाई समाधान गर्ने विषयमा पनि वन मन्त्रालयसँग छलफल हुने बताए ।

प्रतिक्रिया