आइतबार, जेठ ६, २०८१

किन फर्काइँदैनन् नेपालबाट भारत गएका गैंडा ?

नेपालखोज २०७८ माघ १८ गते १४:५२

काठमाडौं । भारतको वाल्मीकि व्याघ्र परियोजनासँग जोडिएको नेपालको चितवन नेसनल पार्क (सीएनपी) बाट बाटो भट्किएको एउटा वयस्क गैंडा भारतीय क्षेत्रमा पर्ने चुभट्टा जंगलमा पुगेको हिन्दी भाषाको दैनिक हिन्दुस्तानले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ । व्याघ्र परियोजनाका निर्देशक हेमकान्त रायले गैंडा चुभट्टा जंगलमा आइपुगेको कुरा पुष्टि गरेको समाचारमा जनाइएको छ ।

उक्त गैंडाको निगरानीका लागि वन कर्मचारीहरुको टिम तैनाथ गरिएको कुरा बताउँदै समाचारमा गैंडेको मुभमेन्टमा नजर राखिएकोसमेत उल्लेख छ । समाचारअनुसार उक्त गैंडालाई आवश्यकताअनुसार रेस्क्यु गरेर गनौली रेन्जको जंगलमा लगेर छोडिने योजना छ । त्यहाँ पहिलेदेखि नै नेपालबाट बाटो बिराएर पुगेका थप दुईवटा गैंडा छन् ।

कुनै समय भारतको यो वाल्मीकि व्याघ्र परियोजनामा एकसिंगे गैंडाहरु थिए । पछि त्यहाँका सबै गैंडा नासिएर विलुप्त भए । यता बीटीआरसँग सीमा जोडिएको नेपालको चितवन नेसनल पार्कमा ६ सयभन्दा बढी एकसिंघे गैंडा संरक्षित अवस्थामा छन् । तिनै नेपाली गैंडा जंगलमा बाटो बिराएर वा नारायणी नदीको किनारैकनार भड्किएर भारतीय सीमा क्षेत्रमा पुग्ने गरेका छन् ।

सन् २०२० को अक्टोबर-न‍ोभेम्बरतिर पनि एक वयस्क र एउटा बच्चा गैंडा भारत पुगेको बताइन्छ । भनिन्छ त्यतिबेला बच्चा गैंडाको गलामा तारको गहिरो घाउ थियो जसको बीटीआर प्रशासनले काजिरंगा राष्ट्रिय उद्यानका विशेषज्ञ चिकित्सकको मद्दतले उपचार गराए । भारतका वन्यजन्तु विशेषज्ञहरुले यस्ता गैंडालाई बोमा बनाएर सुरक्षित राख्ने सल्लाह दिएकाले यस्ता गैंडालाई दुई वर्ष बोमामा राखेर मात्र बाहिर जंगलमा छाड्ने गरिएको छ ।

यद्यपि यसरी बाटो बिराएर भारत पुगेका नेपाली गैंडा फिर्ता गर्ने चलन भने छैन । बरु वाल्मीकि व्याघ्र परियोजनाका निर्देशक हेमकान्त परियोजनामा गैंडाको बसोबासका लागि सबै आवश्यक संसाधन विद्यमान भएको बताउँदै बिस्तारै त्यहाँ गैंडाको संख्या बढ्ने दाबी गर्छन् । उनी केसम्म भन्छन् भने केही समयपछि बीटीआर फेरि गैंडाका लागि चिनिनेछ ।

आफ्नो क्षेत्रमा भएका गैंडा नासेर नेपालबाट भड्किएर आइपुगेका गैंडाको भरमा गैंडा क्षेत्र विकसित गर्ने यी भारतीय वन अधिकारीको योजना पनि गज्जबकै छ ।

त्यसभन्दा अचम्म र लाजमर्दो स्थिति नेपाललाई गैंडा फिर्ता नगरी भड्किएर आइपुगेका गैंडाकै लागि विशेष व्यवस्था र सुविधाहरु तयार गरिराख्नु देखिएको छ ।

प्रतिक्रिया