शुक्रबार, वैशाख २८, २०८१

जे बाँड्यो त्यही बढ्छ

एलपी भानु शर्मा २०७८ माघ २० गते ८:४५

-संसारमा अशान्ति देखिन्छ भने आफूभित्रको शान्ति प्रकट हुन बाँकी नै छ भन्ने बुझिन्छ ।
संसारमा अन्याय देखिन्छ भने आफूभित्रको न्याय तत्त्व सुतिरहेको छ भन्ने बुझिन्छ ।

-आफूलाई नचिनीकन अरूलाई चिन्न सकिँदैन ।
जति मात्रामा आफूलाई चिनेको छ, त्यति नै मात्रामा अरूलाई चिन्न सकिन्छ ।
अझ रमाइलो के छ भने आफूलाई पूरै चिनेपछि अरूलाई चिन्न केही शेष रहँदैन !

-कि त आफ्नो सूक्ष्म रूप भेट्ने जहाँ कोही प्रवेश गर्न सक्दैन,
नत्र आफ्नो विराट रूप भेट्ने जहाँ कोही कहिल्यै अलग छैन ।

-मानिसको मन यस्तै हुन्छ- बाहिर अँध्यारो, भित्र उज्यालो ।
भित्रको उज्यालो भेटिन समय लाग्न सक्छ । तबसम्म अँध्यारोको साक्षी बनिराख्नुपर्छ ।

-जीवन स्वतन्त्रताको खोज हो ।
सबैभन्दा ठूलो स्वतन्त्रता आफूले चाहेको विचार रोज्ने र त्यसलाई पूर्णतासम्म पुर्याउने स्वतन्त्रता हो ।

-जे खोज्यो त्यही भेटिन्छ ।
जे बाँड्यो त्यही बढ्छ ।
सत्य खोज्ने, सत्य बाँड्ने ।
प्रकाश खोज्ने, प्रकाश बाँड्ने ।
अमृत खोज्ने, अमृत बाँड्ने ।
समृद्धि खोज्ने, समृद्धि बाँड्ने ।

-आफ्नो मूल लक्ष्य अर्थात् ध्येयसँगको आन्तरिक एकाकार नै योग हो ।
अन्तिम एकाकार ध्येयभित्र अन्तर्निहित भगवद् तत्त्वसँग हुनेछ ।

-जब
कर्म नै नृत्य,
कर्म नै सिर्जना,
कर्म नै तपस्या,
कर्म नै पूजा,
कर्म नै ध्यान, र
कर्म नै भक्ति बन्छ
तब पूरै जीवन नै कर्मयोग बन्न पुग्छ ।
तब जीवनमा अथाह चौतर्फी समृद्धिको शृंखला प्रारम्भ हुन्छ ।

प्रतिक्रिया