लोकगायक विष्णु खत्री माओवादी केन्द्रको गलकोट नगर समिति उपाध्यक्ष

काठमाडौं । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समिति उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले खत्रीसहित सात सदस्य पदाधिकारी चयन गरेको हो ।
गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । उनले भने, ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार/आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठाने ।’
राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनले बताए । आफूलाई चिनाउने लोकसंगीत क्षेत्रको टेवा र उत्थानमा क्रियाशील भएर लाग्ने खत्रीले बताए । गलकोट–७ मल्ममा जन्मेका खत्री माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरेका थिए । उनी विसं २०७४ को स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवार सिफारिस समेत भएका थिए । लोकसंगीत क्षेत्रमा रुचाइएका गायक÷सर्जक खत्रीले सयौं गीतमा स्वर दिएका छन् ।
शब्द, रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन् । उनले गीतमार्फत विकृति, विसंगती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन् । उनको ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन् ।
माओवादी केन्द्र्रले नगर समितिका अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गंगा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ । ज्येष्ठ सदस्य आत्मराम शर्माको अध्यक्षतामा बसेको बैठकले पदाधिकारीको टुंगो लगाएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले बताए ।
६५ सदस्यीय नगर समिति गत मङ्सिरमै सर्वसम्मत निर्वाचित भएपनि पदाधिकारी चयन दुई महिनापछि भएको हो । आकांक्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा सहमति जुट्न सकेको थिएन ।

प्रतिक्रिया