शुक्रबार, वैशाख २१, २०८१

फुटबल प्रशिक्षक अल्मुताइरीलाई बालुवाटारमा बाेलाएर प्रधानमन्त्री देउवाले गरे सम्मान

नेपालखोज २०७८ माघ २१ गते १४:३४

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरे ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रीपरिषद् बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।

असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई तीन लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरिएको हो ।

यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरिसकेको छ । सो समयमा अल्मुताइरी नेपालमा नरहेकाले उनलाई आज एक कार्यक्रमबीच सम्मान पत्र र नगद पुरस्कार वितरण गरिएको हो ।

प्रतिक्रिया