सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

नेपालखोज २०७८ माघ २१ गते १८:२०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

आज सिंहदरवारस्थित रक्षा मन्त्रालयको दोस्रो चौंमासिक समीक्षा बैठकमा उनले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि सुरक्षा जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पारे । त्यस अवसरमा प्रधानमन्त्री देउवाले चालू आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराएको रक्षासचिव किरणराज शर्माले जानकारी दिए ।

त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापनालगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ । यता, रक्षा सचिव शर्माले बैठकमा आएका महत्वपूर्ण निर्देशन तथा सुझावलाई आत्मसात गर्दै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया