रेकर्ड रफ्तारले हुँदै अमेजनको जंगल विनाश

काठमाडौं । संसारमा जंगलको लगातार कटानले पर्यावरणलाई निकै नोक्सान पुगिरहेको छ । यसक्रममा ब्राजिलको विश्व प्रसिद्ध अमेजनको जंगल पनि ठूलो स्तरमा कटान भइरहेको बताइन्छ ।
एक तथ्यांकअनुसार ब्राजिलमा अमेजनको जंगल रेकर्ड स्तरमा घटिरहेको छ । संसारमा पानी पर्ने कुरामा अमेजनको जंगलको अहम् भूमिका रहँदै आएको छ । यद्यपि नाश हुँदै गएको अमेजनको जंगलले संसारमा पर्यावरणीय चिन्ता थपेको छ । ब्राजिल नेसनल स्पेस रिसर्च इन्स्टिट्युटका अनुसार १ जनवरीदेखि २२ जनवरीको बीच अमेजनमा करिब ३६० वर्गकिलोमिटर वन क्षेत्र नष्ट गरियो ।
जंगलको कटानले थपेको चिन्ता
पर्यावरण विशेषज्ञहरुका अनुसार ब्राजिलको जंगल नासिनु निकै खतरनाक संकेत हो । पर्यावरणविद्हरुका अनुसार ब्राजिलको जंगलका लागि २०२२ निकै विनाशकारी साबित हुँदै छ । इन्भारमेन्टल ग्रुप नेटवर्कका जलवायु विशेषज्ञ क्लाउडियो एन्जेलोका अनुसार जनवरी महिना ब्राजिलमा वर्षाका दृष्टिले पिक समय हो । यही समयमा जंगल नासिनु चिन्ताको कुरा हो । किनभने यतिबेला जंगलमा कटानको काम कमै हुन्छ । एन्जेलोले भनेका छन्- हामी यसमा नजर राखिरहेका छौं र फेब्रुअरीमा कटानको स्थिति कस्तो रहन्छ त्यसमा धेरै कुरा निर्भर गर्छ । तर यो राम्रो संकेत भने होइन ।
तुलनात्मक रुपमा बढी जंगल नष्ट
२०२१ को तुलनामा यो वर्षको जनवरीमा ठूलो मात्रामा जंगलको कटान भयो । २०२१ को जनवरीमा ८३ वर्गकिलोमिटर जंगल उजाडिएको थियो । गएको वर्ष जंगलको विनाश यति भयावह थिएन । राष्ट्रपति जायर बोल्सेनारोको शासनकालमा यो तेस्रोपटक जंगलको यति ठूलो कटान भएको हो ।
बोल्सेनारोको शासनमा जंगलको जमिन एग्रोबिजनेस तथा माइनिङको काममा प्रयोग गर्न छुट दिइएको छ । अमेजनको जंगलको विनाशका लागि ब्राजिलका राष्ट्रपति बोल्सेनारोको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ भने संसार प्रसिद्ध जंगलको बर्बादीले जलवायु परिवर्तनसम्बन्धी चिन्ता पनि बढाएको छ ।
अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया