शनिबार, वैशाख १३, २०८२

श्रममन्त्री श्रेष्ठले भने- वैदेशिक रोजगारबाट पीडित भएकालाई सम्मान गरौं

नेपालखोज २०७८ माघ २३ गते १५:४८

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पीडित व्यक्तिहरुको गुनासोलाई समयमै समाधान गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । आज काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या समाधान लागि ढिलो नगर्न विभागलाई निर्देशन दिए ।

अनुगमनका क्रममा विभागका कर्मचारीले पीडितको समस्या समाधानमा चासो नदेखाएको भन्दै कर्मचारीले कार्यशैलीमा सुधार गर्नुपर्ने उनले बताए । विभागका महानिर्देशक लगायतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री श्रेष्ठले भने, ‘मन्त्रालयको तर्फबाट हाम्रो अनुरोध के हो भन्दा पीडितहरु आउँदा समयमा उनीहरुलाई सम्मान गर्नुहोस । सम्मान दिदाँ पनि के हो ? कसो हो ? भनेर कुरा बुझ्दा पनि ५० प्रतिशत उनीहरुको घाउमा मल्हम लाग्नेछ ।’

विभागको अनुगमनपछि मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीने श्रमिकहरुलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने बताए । उनले भने, ‘विशेषगरी हामीले धेरै अगाडीदेखि उठाएका जुन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम हेल्प डेस्कको रुपमा राखिएको डेस्कको विषयमा पनि, हामीले यो हुनत् अस्तिनै लगभग दुईहप्ता अगाडी नै यसलाई व्यवस्थापन गर्ने, यो साच्चै श्रमिकहरुलाई कसरी सहजीकरण गर्ने भन्ने हिसाबले हामीले भनेका छौं । छिट्टै त्यो हेल्पडेस्कको काम श्रमिकहरुलाई सहजीकरण गर्ने हिसाबले एक, दुई दिनमै हामी अगाडी बढाउँदैछौं ।’

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरु के–के रहेका छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाई गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीले छलफल गरी मन्त्रालयमा पेस गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया