‘सत्ता गठबन्धन कायम राखेर आगामी निर्वाचनमा जानुपर्छ’

नेपालखोज २०७८ माघ २३ गते १९:२७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनलाई कायमै राखेर अघि बढन पार्टी नेतृत्वलाई दवाव दिएका छन् । एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सत्ता गठबन्धनमा आवद्ध अन्य दलबीच मतभेद भइरहेका बेला वरिष्ठ नेता पौडेलको यस्तो भनाई आएको हो ।

आगामी निर्वाचन जित्नका लागि पनि सत्ता गठबन्धनलाई निरन्तरता दिएर जान उपयुक्त हुने उनले बताए । पार्टीले आज पोखरामा आयोजना गरेको एक कार्यक्रममा सत्ता गठबन्धनकै कारण पार्टीले राष्ट्रियसभा निर्वाचनमा पनि जित हात पार्न सफल भएको दृष्टान्त पेश गर्दै त्यसलाई नकारेर अघि नबढन पार्टी नेतृत्वलाई पौडेलले सचेत गराए । वरिष्ठ नेता पौडेलले पार्टी कमजोर भएका ठाउँमा अन्य दलसँग मिलेर चुनाव जितिन्छ भने त्यसमा मिलेर किन नजाने भन्दै प्रश्न गरे ।

कास्कीमा एक्लै चुनाव लडेर जित्न नसकिने भन्दै उनले त्यस्ता ठाउँमा गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने तर्क गरे । वरिष्ठ नेता पौडेलले भने, ‘हामीले सरकारको प्रधानमन्त्री पद पनि पाएकै हो । हामीले संसदमा आफ्ना ६ जना साथी जिताउन सकेकै हो । हाम्रा ३ जना खाली भएका थिए । ६ जना प्राप्त गयौं । त्यो एक्लै पाएको हो ? त्यो पाँच दल मिलेर पाएको हो कि, होईन ? पाँच दल मिलेर हामीले प्राप्त ग¥यौ नि त । ३ जना थिए राष्ट्रियसभामा हाम्रा । ३ जनाको ठाउँमा हामीले ६ जना पु¥यायौं । त्यो उपलब्धि हो नि त । यसलाई हामी नकार्न सक्दैनौ नि ।’

उनले देउवालाई गठबन्धन कायम राख्न सुझाव दिए । उनले भने, ‘भोली पनि चुनाव लड्दा यही कास्की जिल्लालाई उदाहरण दिएर म भन्न चाहन्छु–के एक्लै लड्ने हो ? कि मिल्नुपर्छ अरुसँग ? जहाँ हामी एक्लै लडेर जित्न सक्छौं, त्यहाँ एक्लै लडौं । जहाँ एक्लै लडेर सर्लक्कै जित्न सकिन्छ, त्यसमा किन अर्कालाई भाग दिनु प¥यो ? तर जहाँ आफ्नो स्थिति पनि कमजोर छ । उताको स्थिति पनि कमजोर छ भने पछि दुईटा मिल्दा जितिन्छ भने किन नमिल्ने ?’

वरिष्ठ नेता पौडेलले एक्लै लडेर चुनाव जितिने ठाउँमा भने पार्टीले एक्लै चुनाव लड्दा हुने पनि बताए । उनले सत्ता गठबन्धनलाई कायमै राखेर जाँदा काँग्रेसलाई फाईदैफाईदा हुने दावी समेत गरे ।

प्रतिक्रिया