महामारीमा आत्महत्यादर बढ्यो

काठमाडौं । नेपालमा कोरोना महामारीबीच आत्महत्याका घटना बढेको पाइएको छ । प्रहरीको तथ्यांकअनुसार कोभिड महामारीको २०२०/२१ आर्थिक वर्षमा नेपालमा कुल ७,१४१ आत्महत्याका घटना दर्ता भएको थियो । जसमा पुरुषको संख्या ३,९२८ थियो भने २, ४४९ जना महिला तथा बालबालिका थिए ।
काठमाडौंस्थित त्रिभुवन युनिभर्सिटी टिचिङ हस्पिटलका मनोचिकित्सा विभाग प्रमुख सरोजप्रसाद ओझाले देशमा आत्महत्याका घटना बढ्नुमा महामारीबीच मानसिक स्वास्थ्य समस्या जिम्मेवार भएको बताएका छन् । ओझाका अनुसार लगभग ९० प्रतिशत आत्महत्या चिन्ता तथा अवसादजस्ता मानसिक स्वास्थ्यसँग जोडिएका छन् । उनी भन्छन्- सामाजिक कारणले पनि मानिसहरुमा मानसिक स्वास्थ्य समस्या जन्माएको छ ।
ओझाका अनुसार, ‘कोभिड-१९ को महामारीका दौरान मानिसहरुलाई घरभित्रै रहन भनियो त्यसमा कतिपयले मनोसामाजिक कारणसँग सम्बन्धित मानसिक स्वास्थ्य समस्याहरुको सामना गर्नुपर्यो जुन आत्महत्याको सबैभन्दा ठूलो कारण हो ।’
मनोरोग विशेषज्ञहरुका अनुसार नेपालमा भएका अधिकांश आत्महत्यामा बेरोजगारी, लामो शैक्षणिक कार्यक्रम, पारिवारिक विवाद, आर्थिक समस्या, रक्सी तथा मादक द्रव्यको सेवन जस्ता मनोसामाजिक कारणले योगदान पुर्याएका छन् ।
बितेका १२ वर्षदेखि मानसिक स्वास्थ्यको वकालत गर्दै आएका जगन्नाथ लामिछाने भन्छन्, ‘आत्महत्यालाई सार्वजनिक स्वास्थ्यको मुद्दाका रूपमा हेर्नुको साटो हाम्रो समाजले आत्महत्यालाई आपराधिक दृष्टिकोणले हेर्छ जसका कारण मानिसहरुसँग आत्महत्या तथा मानसिक स्वास्थ्यबारे कुरा गर्न मुस्किल हुन्छ । यही संकोचका कारण पनि बढी आत्महत्या हुने गरेको छ ।’
लामिछानेका अनुसार- ‘त्यसैले पनि हामीले स्कुले शिक्षामा आत्महत्याको रोकथाम तथा मानसिक कल्याण जस्तो विषय सामेल गरेर तल्लो तहदेखि नै मानसिक स्वास्थ्यको वकालत गर्नुपर्नेछ ।’
संसारमा कोरोना भाइरसका कारण मानसिक स्वास्थ्यको मुद्दा पनि एउटा प्रमुख समस्याका रुपमा अगाडि आएको छ । लकडाउन तथा बन्दाबन्दीले मानिसहरुको बानी-व्यवहारसमेत परिवर्तन गरिदिएको छ । यसक्रममा एउटा ठूलो समूह तनावपूर्ण जीवन जिउन बाध्य छन् र यस्तो तनाव रोग एवं भविष्यको चिन्तासँग सम्बन्धित छ ।
-डीडब्ल्यू फिचरमा आधारित
प्रतिक्रिया