राष्ट्र बैकद्वारा ९ अर्ब ५० करोडको ऋणपत्र बिक्री आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको अनुुसार माघ २५ गते दुई वर्षे अवधिको विकास ऋणपत्र २०८० ‘च’ बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर— बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले माघ २५ गते अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ । राष्ट्र बैंकका अनुसार निस्काशन मिती २०७८ माघ २६ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८० माघ २६ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।
इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निस्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब सात लाख ५० हजार र एक अर्ब चार करोड २५ लाख रुपैयाँ छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।
खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निस्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । राष्ट्र बैकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका बाँणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीकोरुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्नेछ ।

प्रतिक्रिया