‘राप्रपालाई बलियो शक्ति बनाउने कमल थापाको प्रतिबद्धता’

नेपालखोज २०७८ माघ २४ गते १५:३७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको बताएका छन् । थापाले आज काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले थापा एकताकै पक्षमा रहेको बताए ।

उनले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको पनि बताए । त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको भूमिका सबैभन्दा बढि हुने उपाध्यक्ष प्रधानको भनाई थियो । उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले भने, ‘उहाँले पार्टी फुटाउने सोच्नु भएको जस्तो मलाई लागेको छैन । महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकतावद्ध बनाएर लैजाने हो । त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ । हामी पार्टी एकताको पक्षमा छाैँ । एकतावद्ध भएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।’

पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताइन् । उनले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टीभित्र समेटेर लैजानुपर्ने बताइन् । उनले भनिन्, ‘पार्टीका पूर्वअध्यक्ष थापा पार्टी विभाजनको पक्षमा हुनुहुन्न । बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्नु भएको छ । विगतमा पार्टीमा योगदान गरेका, दुःख गरेका सबै नेता, कार्यकर्तालाई समेटेर पार्टीमा विभाजन आउन नदिन पार्टी नेतृत्व बढि नै सचेत हुनुपर्छ ।’

महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताइन् । कमल थापाले आफू पक्षीय नेतालाई छलफलको लागि बोलाएका थिए ।

प्रतिक्रिया