बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, स्थानीय तह चुनावको मिति घोषणा गर्दै सरकार

नेपालखोज २०७८ माघ २४ गते १६:२१

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । आजको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति तय गर्ने बताएका छन् । उनले सरकारलाई समयमा चुनाव गर्न कुनै समस्या नरहेको बताइसकेका छन् । उनले आजको बैठकबाट स्थानीय तहको चुनावको मितिबारे निर्णय गर्ने बताए । आज बसेको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । बिहीबार भने बैठक बसेको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्नेबारे समझदारी गरेका थिए । निर्वाचन आयोगले पनि सरकारलाई जेठ ४ गते अघि नै चुनाव गर्न सुझाव दिएको थियो । देउवा पनि आयोगको सो प्रस्तावमा सकारात्मक रहेको बुझिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समयमा चुनाव सरकारलाई आग्रह गरिसकेको छ । प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक आइतबार बालुवाटार पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि समयमा निर्वाचन गर्न सरकारलाई सुझाव दिएका थिए । हिजोको छलफलमा एमसीसीबारे सत्ता गठबन्धनको प्रष्ट धारणा बनाउन पनि देउवालाई आग्रह गरेका थिए ।

जेठ ४ गतेपछि स्थानीय तह जनप्रतिनिधि बिहिन हुँदै छ । स्थानीय तहलाई जनप्रतिनिधि बिहिन बनाउन नहुने माग एमालेको छ । नेपाली कांग्रेस पनि चुनावप्रति सकारात्मक देखिएको छ ।

प्रतिक्रिया