१८ दलले माघ २६ गते एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने

नेपालखोज २०७८ माघ २४ गते १८:१३

काठमाडौं । एमसीसी सम्झौताविरुद्ध संसद बाहिर रहेका १८ राजनीतिक दलहरुले माघ २६ गते काठमाडौंमा व्यापक जनसहभागितामा विरोध प्रदर्शन गर्ने भएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्दै संसद बाहिर रहेका १८ राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरुको मोर्चाले संयुक्त आन्दोलन गर्ने भएको हो ।

नेकपा मालेका महासचिव सीपी मैनालीले एमसीसी खारेज गर्नका लागि माघ २६ गते विरोध कार्यक्रम राखिएको बताए । उनले देश बचाउन र देशको सार्वभौममसत्ताको लागि सबै जनता उठ्नु पर्ने बताए । नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक (२०७४ साल भाद्र)मा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने नलेखिएको बताएका छन् । उनले भने, ‘नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक २०७४ साल भाद्रमा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने लेखिएको थिएन । त्यसलाई १ वर्षपछि संसदबाट अनुमोदन गर्ने एमसीसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँका शिर्ष नेता, कर्मचारीहरुले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडी बढेका छन् । विगतका नजिर नहेरी यस्ता सम्झौता–सन्धीहरु नेपाल सरकारले पारित गरेको इतिहास छैन ।’

स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपालले एमसीसी जबरजस्ती अनुदान भनेर नेपालीलाई सरकारले कोच्याउन खोजेको आरोप लगाए । कुनै पनि देशबिच हुने आर्थिक सम्झौतामा जनता प्रत्यक्ष मारमा पर्ने उनले बताए । नेपालले नेपालमा एमसीसी सम्झौता लागु भएपनि असफल हुने जिकिर गरे ।

प्रतिक्रिया