भूपू गोर्खाहरुको समस्या समाधानका निम्ति सरकारले चासो दिएन

नेपालखोज २०७८ माघ २४ गते १९:३९

काठमाडौं । भूपू गोर्खाहरुको समस्या समाधानका निम्ति सरकारले चासो नदेखाएको सांसदहरुले बताएका छन् । आज सिंहदरवारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले भूपू गोर्खाहरुको समस्या समाधानका निम्ति सरकार जिम्मेवार नभएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि पटक–पटक समस्या समाधानका निम्ति सरकारलाई अग्रसरता लिन आग्रह गरेको भएपनि सरकारले वेवास्ता गरेको सांसदहरुको आरोप छ । बैठकमा बोल्दै सांसद भीम रावलले बेलायत सरकारसँग नेपाल सरकारले के कारणले कुरा गर्न नसकेको हो परराष्ट्र मन्त्रीले जवाफ दिनुपर्ने बताए ।

समितिले पटक पटक निर्देश गर्दा पनि सरकारको तर्फबाट कुनै काम हुन नसकेको उनले उल्लेख गरे । भूतपूर्व गोर्खाहरुको माग बमोजिम सरकारले तुरन्त उच्चस्तरीय वार्ता समिति गठन गरेर बेलायती सरकारसँग कुरा गर्नुपर्ने आफुहरुको धारणा रहेको उनले बताए ।

त्यस्तै, सांसद रेनुका गुरुङले बेलायत सरकारले भूपू ब्रिटिश गोर्खालाई न्यून ज्यालामा सिंगापुर र ब्रुनाईको सेवामा खटाएको सम्बन्धमा परराष्ट्र मन्त्रालयको धारणा माग गरिन् । नेपाल र बेलायतबिचको सन्धी पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ ।

सांसद दिपक प्रकाश भट्टले सरकारले राष्ट्रिय हितलाई अगाडी राखेर कुरा गर्न नसकेको बताए । वार्ता समिति गठन गरेर वार्ता समेत गर्न नसकेको उनको भनाई छ । समितिमा पुनः सम्बन्धित मन्त्रीलाई बोलाएर भूपू गोर्खाको समस्या समाधानको सम्बन्धमा छलफल गर्नुपर्ने उनले उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालले भूतपूर्व गोर्खा सैनिकको विषयलाई उच्चतम प्राथमिकता दिनुपर्ने बताए । जुन देशसँग सम्झौता भएको हो सो देशले नेपालीहरु अन्य देशमा पठाउने कुराको अन्त्य हुनुपर्ने उनले बताए ।

उनले विगतका सम्झौताहरुमा त्रुटी भएमा सच्याउनुपर्ने बताए । विगतमा गरिएको सम्झौता पुरानो भएको भन्दै उनले नयाँ सम्झौतामा जानुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया