रोयल इनफिल्डले लन्च गर्दै छ ४ नयाँ मोटरसाइकल

काठमाडौं । रोयल इनफिल्डले २०२२ मा ४ वटा नयाँ मोटरसाइकल लन्च गर्ने भएको छ । बजारमा आउने यी मोटरसाइकलमा नयाँ जेनरेसन रोयल इनफिल्ड बुलेट ३५०, क्लासिक बोबर ३५०, हन्टर ३५० तथा रोयल इनफिल्ड स्क्रेम ४११ छन् । रोयल इनफिल्डले बितेको केही समययता बाइकको थुप्रै नाममा ट्रेडमार्क दर्ता गराएको छ र तिनै नाममा रोयल इनफिल्डका नयाँ बाइक आउन लागेका हुन् ।
चेन्नईमा रहेको यो बाइक निर्माता कम्पनीले २०२२ मा हन्टर ३५० लन्च गर्दै छ जसको हाल परीक्षण भइरहेको बताइएको छ । यी मोटरसाइकल रोयल इनफिल्ड मिटिओर ३५० प्लेटफर्ममा निर्माण गरिन लागेका हुन् । यद्यपि यी बाइकको स्टाइल तथा डिजाइन एकदम अलग किसिमको हुने बताइएको छ । एक अपुष्ट समाचारअनुसार यी नयाँ मोटरसाइकलका साथ ट्रिपर नेभिगेसन पनि रहनेछ जुन मिटिओरका साथ दिइन्छ ।
रोयल इनफिल्ड बुलेट ३५०
रोयल इनफिल्डले नयाँ जेनरेसनको बुलेट ३५० यही वर्ष लन्च गर्नेछ । यो मोटरसाइकलको स्टाइल तथा डिजाइन अहिलेको मोडलको तुलनामा निकै परिवर्तित हुनेछ । यो बाइकको प्राविधिक पक्षमा पनि सुधार हुने बताइन्छ । नयाँ बुलेट ३५० मा ३५० सीसीको इन्जिन रहनेछ जसले २०.२ बीएचपी शक्ति तथा २७ एनएम पिक टर्क जेनरेट गर्नेछ । यो बाइकमा ट्रिपर नेभिगेसन रहनेछ ।
रोयल इनफिल्ड हिमालयन
रोयल इनफिल्डले हिमालयनको नयाँ मोडल पनि लन्च गर्ने तयारी गरेको छ । जसलाई अफ-रोड बाइकका हिसाबले तयार गरिएको छ । यो बाइकको नाम रोयल इनफिल्ड स्क्रेम ४११ हुनेछ जुन हिमालयनमा आधारित स्क्रेबलर मोटरसाइकल हो । यो मोटरसाइकलमा सिंगल-पोड इन्स्ट्रुमेन्ट कन्सोल तथा ट्रिपल नेभिगेसन रहने बताइएको छ ।
रोयल इनफिल्ड क्लासिक ३५० बाबर
रोयल इनफिल्डले नयाँ क्लासिक ३५० मा आधारित बाबर मोटरसाइकल पनि २०२२ मै लन्च गर्ने सम्भावना छ । यो बाइकलाई स्टाइलिस्ट बनाउन यसमा विशेष किसिमको हेन्डलबार तथा सिट दिइँदै छ । यो मोटरसाइकलमा हन्टर जस्तै मिटिओर ३५० इन्जिन रहनेछ । यो नयाँ बाइकले ठूलो स्तरमा ग्राहकको ध्यान आकृष्ट गर्ने अपेक्षा छ ।
प्रतिक्रिया