कमल थापाले गरे राप्रपाबाट अलग हुने घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टाबाट अलग हुने घोषणा गरे ।
उनले आफ्नो कुराको पार्टीमा सुनुवाइ नभएकाले पार्टीबाट अलग हुने घोषणा गरेको बताए । उनले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’
थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएको बुझिएको छ । अध्यक्ष लिङ्देनले भने थापाको मागको सुनुवाइ भइरहेको बताएका थिए । थापाले सोमबारसम्म लिङ्देनलाई समय दिएकोमा माग सम्बोधन नभएकोे भन्दै थापाले राप्रपा छाडे ।
उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस भन्ने कामना पनि गरेका छन् । थापाले सोमबार राजधानीमा आफूपक्षीय नेताको भेला राखेर आफ्नो माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । उनले माग सम्बोधन नहुने हो भने आफूले विकल्प खोज्ने पनि बताएका थिए ।
थापाको भेलामा गएका पार्टीका पदाधिकारीलेभ भने कमल थापाले पार्टी नछाड्ने प्रतिक्रिया दिएका थिए । महामन्त्री कुन्ती शाहीले थापाले सकारात्मक कुरा गरेको र पार्टीलाई मजबुत बनाउन लाग्ने बताएकी थिइन् । उपाध्यक्ष ध्रुवबहादुर प्रधानले थापाले माग सम्बोधनका विषयमा कुरा गरेको तर पार्टी छाड्ने विषयमा कुनै छलफल नभएको बताएका थिए ।


प्रतिक्रिया