‘नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाको रुपमा स्थापित गर्न आवश्यक’

नेपालखोज २०७८ माघ २५ गते २०:१५

काठमाडौं । नेपाली कांग्रेसले नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएको छ । आज सिंहदरबारमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ माथि भएको छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्था बनाउनु पर्ने धारणा राखेका हुन् ।

सांसद अधिकारीले सबै प्रदेश र पालिकाहरुसम्म सार्वजनिक प्रशारणको पहुँच सुनिश्चित गर्ने कुरालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । सांसद अधिकारीले सार्वजनिक सेवा प्रशारण संस्था स्वशासित संस्था मात्र नभइ स्वायत्त र संगठित संस्था हुनुपर्ने कुरा ऐनमा राख्न प्रश्ताव गरे ।

सांसद अधिकारीले सार्वजनिक सेवा प्रशारण संस्थाले व्यवसायीक प्रशारण च्यानल सञ्चालन गर्ने कि नगर्ने भन्ने बारेमा पनि सरकार स्पष्ट हुनुपर्नेमा जोड दिए । उनले ऐनमा कतै पनि व्यवसायीक च्यानल सञ्चालन गर्ने वा नगर्ने भन्नेबारेमा उल्लेख नभएको भन्दै त्यसलाई सच्याएर स्पष्ट हुन आवश्यक रहेको बताए ।

सरकारले परिवर्तनको वाहकको रुपमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई विकास गर्न खोजेको हो भने स्वतन्त्र, निष्पक्ष र स्वायत्त किसिमबाट सञ्चालन हुनुपर्ने बताए । उनले सार्वजनिक सेवा प्रशारण संस्थाको नेतृत्व संसदीय समितिको सभापति वा राष्ट्राध्यक्षबाट नै हुनेगरी विधान बनाउनु पर्ने बताए ।

बैठकमा सदस्य खिमलाल देवकोटाले सार्वजनिक प्रशारण सेवालाई व्यवस्थित गर्ने ध्येय हो, भने प्रदेश र स्थानीय सरकारबाट स्वीकृती लिएर प्रदेश र स्थानीय सरकारले नै सञ्चालन गरेका सार्वजनिक सेवा प्रशारण संस्थालाई के गर्न सकिन्छ र कहाँ जोड्न सकिन्छ भन्ने बारेमा सोच्नुपर्ने बताए । उनले नेपाल सरकारको मातहतमा मन्त्री र मन्त्रालयका निकायहरुलाई राख्ने हो भने स्वतन्त्र, निष्पक्ष र स्वायत्त हुन नसक्ने बताए ।

राष्ट्रियसभा सदस्य देवकोटाले संघीय सरकारकै मातहतमा नेपाल टेलिभिजन र रेडियो नेपाल सिमित रहने हो भने सात प्रदेश सरकारले सिफारिस गरेका, स्थानीय संघ, महासंघहरुले सिफारिस गरेका सार्वजनिक सेवा प्रशारण संस्था राख्न आवश्यक नरहेको बताए ।

प्रतिक्रिया