प्रचण्ड-माधव छलफल, कांग्रेसको साथ नपाए गठबन्धन बनाएर चुनावमा जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज बिहान नेपाल पुगे ।
सत्ता गठबन्धनका दुई प्रमुख नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । एमसीसीबारे दलहरु विभनजित भएको अवस्थामा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पास गरेर छाड्ने अडान लिएपछि दुई नेताबीच भेट भएको हो । एमसीसी संसद्मा टेबुल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ । अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ ।
एमसीसीलाई लिएर प्रचण्ड र नेपालले एकै खालको धारणा बनाउने बुझिएको छ । स्थानीय तहको मिति पनि सार्वजनिक भइसकेको छ । दुई नेताबीच गठबन्धन बनाएर चुनाव लड्ने विषयमा पनि छलफल भएको बताइएको छ । नेकपा एमालेलाई परास्त गर्न गठबन्धन बनाएर लड्नुपर्ने सोचमा दुवै नेता छन् ।
चुनावी मोर्चा लगायतका विषयमा छलफल भएको छ । नेपाली कांग्रेससँग पनि गठबन्धन गरेर एमालेलाई हरनउने रणनीतिमा दुवै नेता छन् । कांग्रेसले भने गठबन्धन बनाएर लड्छ वा एक्लै चुनावमा जान्छ हेर्न बाँकी छ । तर, प्रचण्ड र नेपाल भने गठबन्धन बनाएर चुनाव लड्ने सहमति भइसकेको छ । कांग्रेसले गठबन्धन नगरे एकीकृत समाजवादी र माओवादी केन्द्र गठबन्धन बनाएर चुनावमा जाने स्रोतले बताएको छ ।

प्रतिक्रिया